काभ्रे–तेमाल गाउँपालिका वडा नं. ६ ठूलो पर्सेलमा विहीबार राती भएको आगलागीबाट भएको क्षतिबारे पालिका अध्यक्ष चन्द्र बहादुर लामा नेतृत्वको टोलीले अवलोकन तथा अनुगमन गरेको छ ।
शुक्रबार अवलोकन गर्न पर्सेल पुगेका अध्यक्ष लामाले सकेको सहयोग गर्ने वचन दिनुभएको छ । आगलगीबाट भएको क्षतिबाट आफू निकै दुखी भएको बताउँदै अध्यक्ष लामाले पिडितलाई पालिका तथा अन्य सहयोगी निकायसँग समन्वय गरी सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।
‘गए राती १२ बजेतीर स्थानीय बसपार्कमा रहेको होटलसहितको पसलमा आगलागी हुदा पूर्ण रुपमा क्षति भएको देखियो ।’–पालिका अध्यक्ष लामाको नेतृत्वमा भएको अनुगमन टोलीका सदस्य शिक्षक भिम लामाले भन्नुभयो ।
आगलागीबाट स्थानीय अम्बर बहादुर तामाङको होटल तथा पसलमा भएको सामान,घर एवं नगद करीव ५ लाखसहित ४० लाख बराबरको क्षति भएको पाईएको लामाले जानकारी दिनुभयो ।विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने स्थानीयले बताएका छन् । आगलागी भएपछि विस्फोटको आवाज समेत आएपछि आगो निभाउने हिम्मत नआएको स्थानीयको भनाई छ । पसलमा रहेका ३ वटा ग्याँग सिलिण्डर मध्ये २ ग्याँस रहेको २ वटा सिलिण्डर पड्किएको थियो ।
क्षतिबारे स्थानीय प्रहरी चौकीले मुचुल्का उठाएको जनाएको छ । क्षतिबारेको अनुगमनमा पालिका अध्यक्ष चन्द्र बहादुर लामासँगै वडा अध्यक्ष प्रेम लामा,शिक्षक भिम लामा लगायतको टोली पुगेको थियो ।