
तेमाल–काभ्रेको तेमाल गाउँपालकाले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम शुक्रबार सार्वजनिक गरेको छ ।
पालिकाको ११ औं गाउँसभामाको पहिलो बैठक आरम्भ गर्दै गाउँपालिका अध्यक्ष एवं गाउँसभामा अध्यक्ष चन्द्र बहादुर लामाले तेमालको समग्र विषयगत क्षेत्रको विकासबारे नीति,कार्यक्रम प्रश्तुत गर्नुभएको हो ।
‘सुशासन सहितको विकास आजको आवश्यकता,पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारमा हाम्रो प्राथमिकता’ भन्ने नारा साथ आर्थिक विकास,सामाजिक विकास,पूर्वाधार विकास,वातावरण तथा विपद् व्यवस्थापन,संस्थागत विकास लगायतका सबै क्षेत्रलाई समेटिएको नीति कार्यक्रमले सडक पूर्वाधारलाई विशेष जोड दिएको छ ।
पालिका केन्द्रसम्म जोड्ने प्रत्येक वडाका सडकहरुमा बाह्रै महिना यातायात सेवा सञ्चालनको स्थिति बनाउन वडादेखि पालिका केन्द्र पोखरी नारायणस्थान जोड्ने सडकहरुमा विशेष बजेटको व्यवस्था गर्ने नीति लिएको देखिन्छ । यसका लागि स्थानीय मुख्य सडक गुरुयोजना निर्माण गरी सडकहरुको स्तरउन्नती गर्ने नीति यो गाउँसभाले लिएको हो ।
सडक पूर्वाधारका साथै कृषि,व्यवसाय प्रवद्र्धनमार्फत रोजगारको सिर्जना,संस्कृति,पर्यटन विकास तथा प्रवद्र्धन,खानेपानी,विद्युत,शिक्षा,युवा तथा खेलकुद,स्वास्थ्य,महिला तथा बालबालिका एवं जेष्ठ नागरिक,वातावरण तथा विपद् व्यवस्थापन,सञ्चार तथा सूचना प्रविधि,संस्थागत विकास तथा मानव संसाधन,राजश्य विकास,सामाजिक सुरक्षा,सामाजिक परिचालन,न्यायिक व्यवास्थापन तथा सम्पादन लगायतका विषयमा गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रम ल्याएको हो ।
पालिका अध्यक्ष लामाले सबैको भावना प्रतिनिधित्व हुने गरी नीति तथा कार्यक्रम तर्जुमा गरेको स्पष्ट पार्नुभयो । स्वागत मन्तव्य राख्दै सभामा उपाध्यक्ष दल बहादुर थोकरले समृद्ध तेमाल निर्माणको अभियानमा सबै एक हुन आवश्यक रहेकोमा जोड दिनुभयो । वडा अध्यक्षहरुको प्रतिनिधित्व गर्दै वडा नंं. ९ का वडा अध्यक्ष चन्द्र बहादुर दोङले सभा सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
पालिका अध्यक्ष लामाको सभाध्यक्षतामा भएको सभा,सभा सचिवको हैसियतले प्रमुख प्रशासकीय अधिकृत केदार ढकालले संचालन गर्नुभएको थियो ।
सभामा प्रस्तुत नीति,कार्यक्रम शुक्रबार नै पारित भएको छ भने बजेट निर्माण कार्य पनि लगभग टुंगिएको जनाएको छ । बजेटबारे थप छलफलका लागि समय अपुग भएपछि एघारौं गाउँसभाको पहलिो बैठकमा बजेट पेश नभएको पालिकाले जनाएको छ ।
पालिकाले आर्थिक अध्यादेश,आर्थिक वर्ष २०७९/०८० को बजेट पारितका लागि भने अर्को बैठक आह्वान गरेको छ । एघारौं गाउँसभाको दोस्रो बैठक यहि असार १५ गते बुधबार विहान १० बजेका लागि डाकिएको पालिकाद्धारा जारी सूचनामा स्पष्ट छ ।