
तेमाल–काभ्रेको तेमाल गाउँपालिकाका विदुर एवं एकल पुरुषहरुले पनि सामाजिक सुरक्षा भत्ता पाउने भएका छन् ।
गाउँपालिकाको आर्थिक वर्ष २०७८/०७९ को नीति,कार्यक्रम र बजेट अनुसार यो कार्यक्रम कार्यन्वयन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष सलाम सिं तामाङले जानकारी दिनुभयो । सरकारले दलित बालबालिका,अपांगता भएका व्यक्ति,एकल महिलालाई भत्ता दिदै आएको सन्दर्भमा तेमालका विदुर एवं एकल पुरुषहरुलाई पनि सहायता आवश्यक रहेको तर्क गर्दै अध्यक्ष तामाङले यो पटक यस खालको सामाजिक सुरुक्षा कार्यक्रम जोडिएको बताउनुभयो ।
उपाध्यक्ष दुर्गामाया तामाङले पनि लक्षित वर्गमा आवश्यक देखिएर नै आर्थिक वर्ष २०७८/०७९ को नीति,कार्यक्रमसहित बजेट बनाएको र सोही अनुसार यो कार्यक्रम हुने बताउनुभयो ।
यहि क्रममा पालिकाले यहि चैत २९ गते पालिका केन्द्र पोखरी नारायणस्थानमा भत्ता वितरणको कार्यक्रम तय गरेको छ ।
पालिका अध्यक्ष तामाङले भन्नुभयो–‘नागरिकता बनाउने बेला जन्म मिति गढबढ भएका कारण वास्तविक रुपमा ७० वर्ष पुगेका धेरै व्यक्तिहरु समेत वृद्धभत्ताबाट वञ्चित रहेको पाइयो,विदुर तथा एकल पुरुष भत्ता कार्यक्रमले त्यस्ता वृद्धहरु पनि लाभान्वित हुने भएकोले यो कार्यक्रम झनै राम्रो हुन्छ ।’
तेमाल गाउँपालिका एकल पुरुष सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धी बनेको कार्यविधि २०७८ को दफा ३ बमोजिम भत्ता वितरण गर्ने प्रमुख प्रशासकीय अधिकृत केदार प्रसाद ढकालले प्रष्ट पार्नुभयो । श्रीमती बितेर एक्लो भएका विदुर र विवाह नगरी बसेका ६० देखि ७० वर्षसम्मका व्यक्तिले विदुर एवं एकल पुरुष सामाजिक सुरक्षा भत्ता पाउने कार्यविधिमा उल्लेख छ ।
यहि कार्यविधि अनुसार यसअघि वडा कार्यालयहरुमार्फत नाम दर्ता गराएका व्यक्तिहरुलाई भत्ता वितरण गर्न लागिएको पालिकाले सूचनामार्फत जानकारी गराइएको छ ।
यो आर्थिक वर्षमा करीव १ सय १० जनाले मासिक २ हजार रुपैयाँका दरले यस खालको भत्ता पाउने तेमाल गाउँपालिका सामाजिक शाखा प्रमुख उद्धवप्रसाद पाण्डेले जनाउनुभयो ।