काठमाडौँ–वरिष्ठ गीतकार डा. कृष्णहरि बरालले प्रतिभा सम्मान पाउनुभएको छ । नेपाली प्रतिभा प्रतिष्ठान,बेलायतले सन् २०२१ को प्रतिभा सम्मान उहाँलाई दिएको हो । त्यस्तै प्रतिभा पुरस्कार सङ्गीतकार गणेश गुरुङलाई प्रदान गरेको छ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ कवि एवम् मुन्धुमविद् बैरागी काइँलाले रु ५० हजार राशि,दोसल्ला र सम्मानपत्रसहितको सम्मान डा. बराललाई र रु १ लाख राशिको पुरस्कार र सम्मानपत्रसहितको पुरस्कार गुरुङलाई प्रदान गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्व कुलपति काइँलाले बेलायतमा रहेका स्रष्टाहरूद्वारा स्थापित नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले भाषा, साहित्य, कला र संस्कृतिलाई सम्झने काम गरेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले सम्मान तथा पुरस्कारबाट सम्मानित तथा पुरस्कृत प्रतिभाले सम्बन्धित विधामा पु¥याएको योगदानको उचित कदर भएको विचार व्यक्त गर्नुभयो ।

साहित्यकार मदन राईले रकमभन्दा सम्मान ठूलो भएपनि सम्मान तथा पुरस्कारको रकम वृद्धि गरिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा डा. रजनी ढकालले सम्मानित प्रतिभा डा. बराल र पुरस्कृत प्रतिभा गुरुङको योगदानको चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा सम्मानित व्यक्तित्व बरालले साहित्य सृजनामा लागेका ठूला प्रतिभा ओझेलमै रहेको उल्लेख गर्नुहुँदै तिनीहरूको खोजी गरेर सम्मान गरिनुपर्नेमा जोड दिनुभयो । पुरस्कृत प्रतिभा गुरुङले पुरस्कार पाएसँगै जिम्मेवारी बढेको अनुभूति भएको बताउनुभयो ।

प्रतिभा प्रतिष्ठानका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष गणेश राईले प्रतिभा प्रतिष्ठानले युद्ध साहित्य तथा डायास्पोरिक साहित्यलाई पनि प्रवद्र्धन गरिरहेको बताउनुभयो । प्रतिभा प्रतिष्ठानका पूर्व अध्यक्ष दयाकृष्ण राईले संस्थाले बेलायतमा ‘अभिव्यक्ति शृङ्खला’ नामक वार्षिक एकल कविता वाचन लगायतका साहित्यिक कार्यक्रमलाई निरन्तरता दिइरहेको बताउनुभयो ।

संस्थाबाट हालसम्म १४ जना प्रतिभालाई सम्मान तथा १४ जनालाई प्रतिभालाई पुरस्कार अर्पण गरिसकेको महासचिव देवेन्द्र खेरेसले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !