तेमाल–काभ्रेको तेमाल गाउँपालिकाको नवनिर्मित प्रशासकिय भवनको शनिबार प्रधानमन्त्री शेरवहादुर देउवाले उद्घाटन गर्नुभएको छ । हेलिकप्टरबाट ऐतिहासीक क्षेत्र तेमाल आउनुभएका प्रधानमन्त्री देउवाले रिवन काटेर सुविधा सम्पन्न भवनको उद्घाटन गर्नुभएको हो ।

उद्घाटनपछि औपचारीक समारोहलाई सम्बोधन गर्दै काँग्रेस सभापति समेत रहेका देउवाले तेमाल गाउँपालिकाले राम्रो काम गरेको भन्दै प्रशंसा गर्नुभयो । जनप्रतिनिधिहरुले विकास निर्माणका साथै सुशासन तथा पारदर्शितामा पनि ध्यान दिनुपर्ने सुझाव उहाँले दिनुभयो ।

पालिका अध्यक्ष सलाम सिं तामाङले तेमालको समृद्धिका लागि अति आवश्यक पर्ने विकासका योजनाहरुमा सहयोग गर्न अपिलपत्र सुनाएपछि देउवाले त्यसमा सहयोग रहने प्रतिवद्धता जनाउनुभयो ।

देउवाले पालिकाको सडक,खानेपानी,स्वास्थ्य लगायतका काममा सरकारको सहयोग रहने बतानुभएको हो । सरकार स्थानीय तहको निर्वाचनको तयारीमै केन्द्रित रहेको उल्लेख गर्दै उहाँले निश्पक्ष र शान्तिपूर्ण निर्वाचनमा सरकार लागि पर्नेमा जोड दिनुभयो ।

संविधानसभा सदस्य एवं माओवादी केन्द्रका केन्द्रिय सदस्य सुर्यमान दोङ(लालध्वज)ले तेमालमा आफूले खानेपानीको पहलकदमी थालेको जनाउँदै त्यो काम छिट्टै पुरा हुने बताउनुभयो । यसका साथै उहाँले तेमालको समृद्धिका लागि कोसेढुंगा सावित हुने गरी सुनकोसी हाइड्रो पवार निर्माण अघि बढ्ने बताउनुभयो ।

अर्को प्रसंगमा पूर्व राज्यमन्त्री दोङले काँग्रेससँगको गठबन्धन दिर्घकालिन रुपमा अघि बढ्ने ठोक्कुवा गर्नुभयो । गठबन्धन गरेरै स्थानीय तहको चुनावमा जाने उहाँले स्पष्ट पार्नुभयो ।

संविधानसभा सदस्य एवं नेपाली काँग्रेस काभ्रेका सभापति तिर्थ लामाले तेमालमा तत्कालिन गाविस सभापति सिद्धिमान तामाङले सडक निर्माणको थालनी गरेको उल्लेख गर्दै यसको स्तरउन्नतीका लागि काँग्रेसको पहल सदैव रहेको दावी गर्नुभयो ।

पालिका अध्यक्ष सलाम सिं तामाङले प्रधानमन्त्री देउवालाई तेमाल ह्रेञ्जेन दोर्जे मेच्छेपौवा माम्ती सडक र बोहोरे दोभान ठूलोपर्सेल तित्रेटार सडक कालोपत्रे गर्न,तेमाल सरकारी अस्पताल निर्माण गर्न,कृषि तथा वाली प्रविधि क्याम्पस निर्माण गर्न,तेमालको आर्थिक तथा पर्यटन विकासका लागि भ्यु टावर तथा तामाङ संग्रहालय निर्माण गर्न,तेमालमा ८३ प्रतिशत तामाङ रहेकोमा यहाँ बौद्ध विश्वविद्यालय निर्माण गर्न सहयोग गर्न अपिल पत्रमार्फत गर्नुभयो ।

अध्यक्ष तामाङले गुरु ह्रेम्पाछे पद्यसम्भवको तपश्यास्थल भएकोले यहाँ सांस्कृतिक पर्यटन विकासको प्रचुर सम्भावना रहेको बताउनुभयो ।

कार्यक्रममा सबैलाई स्वागत गर्दै पालिका प्रवक्ता एवं वडा नं. ७ का वडा अध्यक्ष ज्ञान बहादुर तामाङले जिल्लामै उदाहरणको रुपमा भवन निर्माण सम्पन्न गरी प्रधानमन्त्रीबाट उद्घाटन गर्न पाउनु तेमालबासीको लागि खुसीको खबर भएको बताउनुभयो ।

स्थानीय सरकारमा पहिलो जनप्रतिनिधिको रुपमा आफूहरु निर्वाचित भएर आएको जनाउँदै उहाँले सिक्दै काम गर्दै अघि बढ्ने क्रममा थुप्रै उपलब्धीहरु हाँसील गरेको बताउनुभयो ।

भुकम्पपछि गर्नुपर्ने पुननिर्माण,कोभिड–१९ जस्ता चुनौतीहरुकाबीच पनि थुप्रै काम गर्न सकेको उहाँको दावी छ । कोभिड विरुद्धको खोप कार्यक्रम टोलटोल बस्तीबस्तीमा पुर्याउन सकेको उहाँको भनाई छ ।

कार्यक्रम सञ्चालन गर्नुभएका पालिका उपाध्यक्ष दुर्गामाया तामाङले अहिलेसम्मकै पहिलो पटक मुलुकको उच्च स्तरको कार्यकारी प्रमुख व्यक्तिबाट तेमाल गाउँपालिकाको भुमि टेकेको दावी गर्दै यहाँका जनतालाई देखाएको मायाप्रति प्रधानमन्त्री देउवालाई धन्यवाद व्यक्त गर्नुभयो ।

पालिकाको प्रशासकिय भवन उद्घाटनमा आउनुभएका प्रधानमन्त्री देउवाले स्थानीय स्वयम्भू,चैत्य,नमोबुद्धको पनि उद्घाटन गर्नुभयो ।

औपचारीक कार्यक्रम समापनपछि इन्द्रिरा गोले,विशाल काल्तान,निमा दोङ,जितु लोप्चन,सुनिता दोङ लगायतका कलाकारहरुको सांस्कृतिक प्रस्तुती थियो । विपना लामा लगायतका स्थानीय कलाकारहरुको नृत्य समेत प्रस्तुत गरिएको थियो ।

प्रधामन्त्री देउवाले भवन निर्माणमा साझेदारी गर्ने निकाय र निर्माण कम्पनीका प्रतिनिधिलाई सम्मान समेत गर्नुभयो ।

जिल्ला समन्वय समितिबाट २ करोड र पालिकाको २ करोड ६४ लाख ८ हजार रुपैयाँको साझेदारीमा निर्माण सम्पन्न भएको भवनको उद्घाटनका साथै सांस्कृतिक कार्यक्रम आयोजना गरिएको प्रमुख प्रशासकिय अधिकृत केदार ढकालले जानकारी दिनुभयो ।

पालिका भवन बनेको खुसीयाली मनाउन कार्यक्रममा वडातहदेखिका स्थानीय सहभागि भएका थिए ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस !