आफू मन्त्री भएपछि खेलकुद विकासले गति लिएको मन्त्री ढकालको दावी

काभ्रे–चौंरीदेउराली गाउँपालिकामा अन्तर विद्यालय प्रतिभा पहिचान कार्यक्रम सम्पन्न भएको छ भने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबार शुरु भएको छ । कार्यक्रमको उद्घाटन वागमती प्रदेशका युवा तथा खेलकुकद मन्त्री रत्न ढकालले गर्नुभयो ।

कुन-कुन विद्यालय उत्कृष्ट ?

अन्तर विद्यालय प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत गायन,चित्रकला र नृत्य रहेको थियो । सो प्रतियोगितामा गायन तर्फ वडा नं.६ मा रहेको प्रभा मावि, दोस्रोमा वडा नं. ५ मा रहेको जागृति मावि र तेस्रो वडा नं. २ मा रहेको खाँडादेवी मावि भएको छ ।

त्यसैगरी नृत्यमा प्रथम वडा नं. ६ मा रहेको सुनकोशी आधारभूत विद्यालय, दोस्रोमा वडा नं. १ मा रहेको सूर्येदय मावि र तेस्रोमा वडा नं. ६ कै प्रभा मावि रहेको छ ।

चित्रकला प्रतियोगिता अन्तर्गत छात्र तर्फ पहिलो हुनेमा वडा नं. ३ मा रहेको पुष्पाञ्जली प्रावि, दोस्रोमा वडा नं. ५ मा रहेको जागृति मावि र तेस्रो वडा नं. ८ मा रहेको देउराली मावि भएको छ ।

छात्रा तर्फ प्रथम वडा नं. ५ मा रहेको जागृति मावि, दोस्रोमा वडा नं. ३ मा रहेको बुद्ध हिमालय मावि र तेस्रो वडा नं. ३ मा रहेको पुष्पाञ्जली प्रावि भएको छ । प्रतिभा पहिचान विहिबार शुरु भएर समापन भएको हो भने राष्ट्रपति रनिङ शिल्ड कार्यक्रम शनिबार सम्पन्न हुने शिक्षा शाखा प्रमुख सरोज अधिकारीले जानकारी दिनुभयो ।

आफू मन्त्री भएपछि खेलकुद विकासले गति लिएको मन्त्री ढकालको दावी

कार्यक्रमलाई सम्बोधन गर्दै वागमती प्रदेशका युवा तथा खेलकुकद मन्त्री रत्न ढकालले खेलकुद विकासमा आफू मन्त्री भएपछि गति लिएको बताउनुभयो ।

मुलुकको पहिलो पटक प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको आयोजना गरेको बताउँदै यसले अरु प्रदेशलाई पनि राम्रो सन्देश गएको र संघीय सरकारलाई समेत यसले दबाब सिर्जना गरेको बताउनुभयो ।

ढकालले चौंरीदेउराली गाउँपालिकामा प्रदेशबाट अर्बौंको बजेट आएको दावी गर्दै अझ थप बजेट आउने जानकारी दिनुभयो । स्थानीय चौंरीदेउराली सरकार र प्रदेश सरकारको सहकार्यमा खेल तथा शिक्षादेखि सडक,खानेपानी,कृषि,स्वास्थ्य लगायतका क्षेत्रको विकासले गति लिएको मन्त्री ढकालले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष दिननाथ गौतमले विद्यार्थीहरुलाई खेलकुदमा समावेश गरेर गाउँपालिकालाई चिनाउन सफल हुनुपर्नेमा जोड दिनुभयो । बालबालिकाको प्रतिभा पहिचान गर्ने र प्रतिभाको सम्मान गर्न विषयलाई गाउँपालिकाले संधै सकारात्मक रुपमा लिएको उहाँको भनाई छ ।

कार्यक्रममा माओवादी केन्द्रका नेता विष्णु गौतम,एकीकृत समाजवादीका केन्द्रिय सदस्य मुकुन्द गौतम लगायतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष ताराकुमारी चौंलागाईं,प्रमुख प्रशासकीय अधिकृत महानदास लामा, वडा नंं ५ का वडा अध्यक्ष राजकुमार गौतम, १ नंं वडा अध्यक्ष राजु आले तामाङ लगायत सहभागि हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस !