काठमाडौं–यसअघि स्थगित गरिएको नेपाल तामाङ घेदुङको नवौं महाअधिवेशन आईतबार(भोली) देखि राजधानीमा शुरु हुने भएको छ । धुम्बराहीस्थित एसआर ब्याङ्क्वेटमा तीन दिनसम्म चल्ने तया भएको महाधिवेशन दिउँसो १२ बजे उद्घाटन हुने घेदुङ सञ्चार विभागका संयोजक जगत दोङले जानकारी दिनुभयो । उहाँका अनुसार उद्घाटन कार्यक्रममा ताम्बा,बोम्पो,लामादेखि,नेपाल संस्कृति घेदुङको विशेष सांस्कृतिक प्रस्तुति,तामाङ कलाकार संघ,राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको प्रस्तुति,म्हेन्दोमाया नृत्य रहने छ ।

उद्घाटन सत्रमै तामाङ भाषाको शिक्षा लागू भएका गाउँपालिका अध्यक्ष लगायतलाई सम्मान गर्ने कार्यक्रम रहेको पनि उहाँले बताउनुभयो । लगत्तै बन्द सत्रबाट सांगठानिक,आर्थिक, विधान संशोधनलाई सामान्य छलफल गरेर औपचारिक रुपमा पारित गराउने विधि अपनाउने घेदुङको तयारी छ । महाधिवेशनको सम्पुर्ण तयारी पुरा भएको उहाँले बताउनुभयो । 

संघीय संरचना अनुसार समितिहरु बनाएको घेदुङको संघीय महाधिवेशनमा ८०० को संख्यामा प्रतिनिधि सहभागि हुने घेदुङका अध्यक्ष मोहन गोलेले बताउनुभयो । संघ,प्रदेश र स्थानीय गरी तीनै तहबाट प्रतिनिधि आएको हुनाले प्रतिनिधि र पर्यवेक्षक संख्या बढेको उहाँले स्पष्ट पार्नुभयो ।

यसपटक घेदुङले आफ्ना नारा ‘तामाङ भाषा,संस्कृतिको प्रवद्र्धनसहित ताम्सालिङ प्राप्तिका लागि हाम्रो आन्दोलन,दीर्घकालीन संघर्षको योजनासहित जुझारु नेतृत्व चयनका लागि नवौं महाधिवेशन’ तय गरेको छ ।

चितवन घोषणापत्र जारी गर्दै २०७२ चैत १ गते निर्वाचित घेदुङको कार्यसमितिले महाधिवेशन गर्न सकेको थिएन । कोरोना महामारी लगायतका कारण पटकपटक महाधिवेशनको समय सर्दै आएकोमा यसपटक भने तोकिएकै समयमा महाधिवेशन गर्न लागेको हो ।

‘कुनै प्राकृतिक विध्वंश नभए अब महाधिवेशन भयो । एक भयो, दुई भयो, तीन भयो ।’–अध्यक्ष गोलेले शुक्रबार आयोजित पत्रकार भेटघाटमा भन्नुभएको थियो । अध्यक्ष गोलेले पदाधिकारी २१ जनाको बनाउने तयारी भईरहेको बताउनुभयो । ‘यसपटक पदाधिकारी बढेका छन् । पास भयो भने सबैलाई पद पुग्छ होला ।’–गोलेले भन्नुभयो ।

घेदुङको निर्वाचित कार्यसमितिकोमो अवधि ४ वर्षको हुने नियम रहेको छ ।

प्रतिक्रिया दिनुहोस !