खेलमैदान निर्माण र प्राविधिक शिक्षाको लागि हरदम पहल गर्ने ढकालको वचन
काभ्रे–जिल्लाको चौंरीदेउराली गाउँपालिका वडा नं. ३ मा रहेको बुद्ध हिमालय माविले नयाँ भवन पाएको छ । प्रदेश सांसद एवं युवा तथा खेलकुदमन्त्री रत्न ढकालको पहलमा विनियोजित बजेटबाट बनेको ८ कोठ भवनको शनिबार ५७ औं वार्षिकोत्सवको अवसरमा मन्त्री ढकाल र पालिका अध्यक्ष दिननाथ गौतमले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले वडा नं. ३ को विकास निर्माणलाई आफूले विशेष रुपमा हेरिरहेको बताउँदै आगामी दिनहरुमा शिक्षामा गुणस्तर र खेलकुद क्षेत्रको विकासको लागि आफू लागिरहने प्रतिबद्धता जनाउनुभयो ।
आवश्यकतालाई ख्याल गरी खानेपानी,शैक्षिक संस्थाको विकास,सडक निर्माण लगायतका विकास योजनाहरु सबैभन्दा बढी यही वडामा पारेको मन्त्री ढकालले बताउनुभयो । सम्बोधन गर्दै ढकालले भन्नुभयो, ‘अब शैक्षिक गुणस्तरको साथसाथमा यस विद्यालय परिसर मै खेलमैदान निर्माण गर्नको लागि म पहल गर्नेछु । त्यति मात्र होइन प्राविधिक शिक्षाको लागि हरदम पहल गरिरहनेछु ।’
अर्को प्रसंगमा उहाँले राजनीतिक स्थायीत्वको लागि आफूहरुले एमालेसँग पार्टी एकता गरेको बताउँदै केपी ओलेले एकता नचाहेको,थायीत्व नचाहकोले एकता टुटेको आरोप लगाउनुभयो । मन्त्री ढकालले आगामी निर्वाचनमा स्थायीत्व चाहने,समृद्धि चाहने, संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास चाहने पार्टीलाई भोट हाल्न समेत अनुरोध गर्नुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष ताराकुमारी चौंलागाईंले बुद्ध हिमालयन माध्यमिक विद्यालय गाउँपालिकाकै उत्कृष्ट विद्यालयको रुपमा अगाडि बढेको बताउँदै विद्यालयको व्यवस्थापकिय पाटोको प्रशंसा गर्नुभयो । त्यसैले पनि गाउँपालिकाले शिक्षक दरबन्दी देखि आबश्यक सबैकुरामा सहयोग गर्दै आएको उहाँले बताउनुभये । उहाँले यो विद्यलाय हरेक हिसाबले गाउँपालिकाकै एक नम्बरको परिचय बनाउन सकेको भन्दै खुसी व्यक्त गर्नुभयो ।
वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता विनोद घिसिङले राजनीतिक रुपमा अलग–अलग भएपनि वडाको सबैप्रकारको विकासको लागि सबै राजनीतिक दलहरु एक भइ लाग्नुपर्नेमा जोड दिनुभयो । वडा भित्र आफूले खानेपानीको व्यवस्थापन, विद्यालय भवन निर्माण, गुणस्तरीय शिक्षा, भौतिक पूर्वाधार विकासको आधारभूत कामहरु सम्पन्न गरेको समेत बताउनुभयो ।
विद्यालयका संस्थापकहरु,पूर्व विव्यस अध्यक्षहरु,पूर्व प्रधानाध्यापकहरु, चन्ददाताहरुलाई सम्मान समेत गरेको कार्यक्रममा विद्यालयको प्रधानाध्यापक राजु चौंलागाईंले विद्यालयले हालसम्म गरेको प्रगति र भावी कार्यक्रमको बारेमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महानदास लामा,पूर्व प्रधानाध्यापक दुर्ग सिं लामा, पूर्व शिक्षक रोहित फुयाँल, पूर्व विद्यार्थी सेराप मोक्तान लगायतले कार्यक्रममा आ–आफ्नो मन्तव्य राख्नुभएको थियो । वडा नं. २ का वडा अध्यक्ष दिनेश लामा, वडा नं.८ का वडा अध्यक्ष धन लामाका साथै विभिन्न संघसंस्थाका प्रतिनिधि,विद्यार्थी,अभिभावक लगायतको उल्लेख्य सहभागीता थियो ।