शनिबार वृहत उद्घाटनको तयारी
मकवानपुर–खेल जगत तथा युवा जमातमा एउटा उत्साह छर्दै बागमती प्रदेशमा शनिबारबाट ‘प्रथम प्रदेश खेलकुद प्रतियोगिता’ शुरु हुदैछ । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको शनिबारदेखि हेटौंडामा ‘प्रथम प्रदेश खेलकुद प्रतियोगिता’ शुरु हुँदैछ ।
मुलुक प्रदेश संरचनामा गएपछि खेलकुदको क्षेत्रमा प्रदेशको विभागीय मन्त्रालयले खासै खेल प्रवद्धनात्मक कार्यक्रम गर्न नसकेको सन्दर्भमा काभ्रेबाट निर्वाचित प्रदेश सांसद रत्न ढकालले यो मन्त्रालय सम्हाले लगत्तै हुन लागको कार्यक्रमले खेल क्षेत्रमा उर्जाको सन्देश प्रवाह गरेको छ ।
ढकालले आफू मन्त्री भएपछि आवश्यक ठानेर नै यस्तो योजना बनाएको जानकारी दिनुहुदै खेलकुद क्षेत्रको विकासमा यसखाले प्रतियोगिताको महत्वपूर्ण भुमिका रहने बताउनुभयो ।
प्रदेश राजधानी हेटौंडामास्थित क्याम्पाचौरमा नेपाल आर्मी, नेपाल प्रहरीको व्याण्ड सहितको प्रस्तुती, विद्यार्थीहरुद्धारा ड्रिल प्रदर्शन,अतिसबाजी,मार्सल आट्र्स डेमो,विभिन्न झाँकी तथा साँस्कृतिक कार्यक्रमहरुकाबीच वृहत रुपमा प्रतियोगिताको उद्घाटन गरिने मन्त्री ढकालले बताउनुभयो ।
परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीका अनुसार प्रतियोगिताका खेलहरु मकवानपुरका साथै काभ्रे,चितवन,काठमाडौं र सिन्धुपाल्चोक जिल्लामा गराइने योजना छ ।तयारीबारे मन्त्री ढकालले निरीक्षण समेत गरिसक्नुभएको छ ।
आयोजकले तय गरेको खेल तालिका अनुसार मकवानपुरमा २९ गते आइतबारबाट पुरुष फुटबल,व्याडम्निटन र चैत्र ५ गतेबाट तेक्वान्दो प्रतियोगिता सुरु हुनेछ । त्यस्तै, चितवनमा ३० गतेदेखी भलिबल र क्रिकेट खेल सुरु हुने छ ।
काठमाडौंमा चैत्र ६ गतेदेखी एथलेटिक्स प्रतियोगिता हुनेछ भने सिन्धुपाल्चोकमा चैत्र ७ गतेबाट कराँते खेल हुनेछ । काभ्रेमा पनि चैत्र ७ गतेदेखी महिला फुटबल र ९ गतेदेखी बक्सिङ खेल प्रतियोगिता हुने छ । खेल समापन पनि १२ गते काभ्रेमै गर्ने आयोजकको तयारी छ ।
प्रतियोगिताको लागि आठ करोड ४ लाख रकम खर्च हुने अनुमान गरेको छ । विभिन्न खेलमा करिब २ हजार भन्दाबढी खेलाडीले सहभागिता जनाउने आयोजक प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले जनाएको छ ।