
काभ्रे–डाँडापारी क्षेत्र महाभारत गाउँपालिका ३ फोक्सिङटारस्थित ठूलो पोखरामा कफी पल्पिङ्ग केन्द्र सञ्चलानमा आएपछि स्थानीय किसानहरु खुसी भएका छन् ।
कफि संकलनदेखि प्रशोधन र ग्रेडिङसम्म गर्ने केन्द्र हिमालयन लक्जरी बीन्स प्रालिको सहजिकरणमा जापानको कलरवाथ संस्था र स्थानीय पुपु म्हेन्दो कफी समूहले सञ्चालनमा ल्याएको हो ।
कलरवाथ जापानसँगको सहकार्यमा हिमालयन लक्जरी बीन्सले प्राविधिक ज्ञान दिने मात्रै हैन,बजारीकरणमा समेत सहयोग गर्ने भएपछि उनिहरुमा उत्साह जागेको हो । समूहका स्थानीय अगुवा किसानहरु वेगलाल तामाङ,दिर्पाल तामाङ,तिर्थमान तामाङ,कान्छामान तामाङ लगायतको टोली ले कफी खेतीको प्रवद्र्धनका लागि गाउँमा आएको सहयोगबाट उपलब्धि हाँसील गर्ने बताउनुभयो ।
दिर्घकालिन रुपमा कफीको बजार सुनिश्चितता पाएपछि किसानहरु जोसिएका हुन् । पल्पिङ्ग केन्द्रको स्थापनापछि अब डाँडापारी क्षेत्रमा कफी खेती विस्तारसँगै गुणस्तरीय कफी उत्पादनमा किसानहरुले जोड दिने विश्वास गरिएको छ ।
पल्पिङ्ग केन्द्रको मंगलबार प्रमुख अतिथि संविधानसभा सदस्य एवं नोपली काँग्रेस काभ्रेका सभापति तीर्थ लामा र विशेष अतिथि जापानी नागरिक युसुके युकिहवाले पर्दा हटाउँदै संयुक्त रुपमा कफी पल्पिङ्ग गरी उद्घाटन गर्नुभएको थियो ।
सांस्कृतिक कार्यक्रमसहितको औपचारिक समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि लामाले डाँडापारी क्षेत्रको समृद्धिमा कफीको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । सडक यातायातको स्थायी पहुँच जोडिए यो क्षेत्रको मुहार छिट्टै फेरिन सक्ने उहाँको भनाई छ । उहाँले डाँडापारी क्षेत्रमा केहि वर्ष पहिल्यैदेखि कफी खेती हुने गरेको आफूले देखेको तर बजारीकरण र व्यवसायीकरणका धेरै काम गर्न बाँकी रहेकोमा अब त्यो पूर्ति हुने बताउनुभयो । यसका लागि कलरवाथ जापान र हिमालयन लक्जरी बीन्सको प्रवेशले ठूलो अर्थ राख्ने लामाको धारणा छ । आर्थिक आम्दानीको मुख्य स्रोत कफी हुन सक्ने भन्दै लामाले यो क्षेत्रमा सञ्चालनमा आएको पल्पिङ्ग केन्द्रबाट किसानहरुले भरपुर फाइदा लिन सक्नुपर्नेमा जोड दिनुभयो ।
कलरवाथ जापानका अध्यक्ष युसुके युकिहवाले कफीको बेर्ना राख्ने,रोप्ने,गोडमेलदेखि टिप्दासम्म ध्यान दिन सके डाँडापारी क्षेत्रमा गुणस्तरीय कफी उत्पादन गर्न सकिने बताउनुभयो । यसका लागि स्थानीय किसानहरुसँग कलरवाथ मिलेर काम गर्ने उहाँले स्पष्ट पार्नुभयो ।
हिमालयन लक्जरी बीन्स प्रालिका अध्यक्ष गणेशमान लामाले डाँडापारी क्षेत्र कफीका लागि राम्रो रहेको उल्लेख गर्दै गुणस्तरीय कफी उत्पादनका लागि आवश्यक ज्ञान,सीप र प्रविधिको अभाव हुन नदिने प्रतिवद्धता जनाउनुभयो । उत्कृष्ट कफी उत्पादन गर्न सकिए कफीले डाँडापारी क्षेत्रको पहिचान बनाउने उहाँको दावी छ । अन्तराष्ट्रिय बजारसँग जोड्ने काम समेत आफूहरुले गर्ने भन्दै अध्यक्ष लामाले ढुक्क साथ कफी लगाउन स्थानीयलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा हिमालयन लक्जरी बीन्सका कार्यकारी निर्देशक गुण लामा, कफी कार्यक्रम संयोजक चसिला वाइबा,कलरवाथका अन्य प्रतिनिधिहरु,स्थानीय संघसंस्थाका प्रतिनिधिहरु अतिथिका रुपमा सहभागि हुनुहुन्थ्यो भने ठूलो पोखराका साथै सानो पोखरा र सोक्तेल लगायत क्षेत्रका कफी किसानहरुको उल्लेख्य सहभागिता थियो ।
खुसीयालीमा स्थानीयले प्रमुख अतिथि,अतिथिहरुलाई भव्य स्वागत गरेका थिए ।
फोटो सौजन्य : चसिला वाइबा तामाङ