तेमाल–काभ्रेको तेमाल गाउँपालिकाले मंगलबार दशौं गाउँसभा सम्पन्न गरेको छ । यो गाउँसभाले केहि योजनाहरु संशोधन गर्दै आर्थिक वर्ष २०७८/०७९ का विकासका योजनाहरु समयमै सकाउने उद्घोष गरेको छ । संशोधित योजनाहरु अधिकांश वडास्तरका छन् ।

गाउँपालिका अध्यक्ष सलाम सिं तामाङले तेमालको समृद्धिका लागि सबै एक हुनुपर्नेमा जोड दिनुभयो । जनताको सेवा गर्न आएका जनप्रतिनिधिहरु सबै जिम्मेवार हुनुपर्ने उहाँको भनाई थियो ।

उपाध्यक्ष दुर्गामाया तामाङले अहिलेसम्म सबैको सहकार्य समन्वयमा पालिका अघि बढेको जानकारी दिनुहुदै तेमालमा धेरै परिवर्तन आएको बताउनुभयो । अझ फराकिलो हृदयका साथ सबैजना लागे तेमाल गाउँपालिकाले अंगीकार गरेको सबै सपना पुरा हुने उहाँको धारणा थियो । यो कार्यकालको अन्तिम गाउँसभाको रुपमा दशौं गाउँसभा भएको उल्लेख गर्दै उहाँले आजसम्म साथ सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

स्वागत मन्तव्यको क्रममा पालिकाका प्रवक्ता एवं वडा नं. ७ का वडा अध्यक्ष ज्ञान बहादुर लामाले तेमालको विकासका लागि २०७४ मा जनताले जिताएर पठाएका सबै पार्टीका जनप्रतिनिधिहरु जनताको भावना अनुसार अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो ।

उहँले भन्नुभयो–‘नेपालका जुनसुकै पालिकाहरु हेर्नुहोस्,मिलेरै विकास भएको छ,हामी पनि काम गरिरहेका छौं,हाम्रो पालिका पनि कम्तीमा उत्कृष्ठ १० स्थानमा परोस् ।’ उहाँका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा तेमाल गाउँपालिकाले ५१ करोड बराबरको बजेट कार्यन्वयन गर्नुपर्नेछ ।

वडाहरुको तर्फबाट प्रतिनिधि मन्तव्य राख्दै वडा नं. ९ मैनाजाङ मेच्छेका वडा अध्यक्ष चन्द्र बहादुर तामाङले अब आफ्ना वडाका योजना कार्यन्वयनले गति लिने बताउनुभयो ।

उहाँले भन्नुभयो–‘हामी सबैले पालिकासँगकै समन्वयमा दशैंको बेला बाटो सरसफाई गरेका थियौं तर वडाका योजनाहरु कार्यन्वय ढिला गर्दा अलि राम्रो सन्देश गएन,ति सबै योजना जनतामाझ बसेर नै बनाएका थियौं,त्यसैले ति योजनाहरु समयमै कार्यन्वयन गर्न हामी बाध्य छौं ।’

स्रोतका अनुसार पालिका नेतृत्वले स्वास्थ्य,शिक्षा,कृषि जस्ता विषयगत क्षेत्रका साथै चालु खर्चबाट केहि विकासका योजना बनाएको असन्तुष्टि यो गाउँसभासँगै मत्थर भएको सन्देश गएको छ ।

प्रतिक्रिया दिनुहोस !