
शहिद पार्कको उद्घाटन र वेपत्ता तथा शहिद परिवारलाई राहत दिने
चौंरीदेउराली-नेपाल सरकारका अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्मा काभ्रेको चौंरीदेउराली आउनुहुने भएको छ । वडा नं. ७ मा गाउँपालिकाले निर्माण गरेको शहिद पार्क उद्घाटन गर्न बुधबार शर्मा चौंरीदेउराली आउन लाग्नुभएको हो ।
सो वडाको मादनकुँडारीमा माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धमा विभिन्न मोर्चामा सहदात प्राप्त गरेका शहिदहरुको शालिक सहितको शहिद पार्क निर्माण सम्पन्न गरेको पालिका अध्यक्ष दिनानाथ गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार हरेक वडामा सहदात तथा बेपत्ता पारिएका योद्धाहरुको स्मृतिमा शहिद वा बेपत्ता स्मृति पार्क निर्माण गर्ने योजना अनुसार यस वडामा शहिद पार्क निर्माण भएको हो ।
अर्थमन्त्री शर्माले तिनै शहिद पार्क उद्घाटन गर्नुका साथै गाउँपालिकाले शहिद तथा बेपत्ता परिवारलाई मासिक रुपमा राहत सहयोग स्वरुप दिने रकम समेत प्रदान गर्ने गाउँपालिका अध्यक्ष गौतमले बताउनुभयो । गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को नीति, कार्यक्रम तथा बजेटमार्फत् शहिद तथा बेपत्ता परिवारलाई मासिक २ हजार रुपैयाँ दिने घोषणा गरेको थियो ।
सो पार्कमा सो वडाका १० जना सहिदहरुको शालिक निर्माण भएको वडा अध्यक्ष बीरबल तामाङले बताउनुभयो । ‘महान सहिदहरुको स्मृति र सम्मानमा पार्क निर्माण गरिएको छ ।’ वडा अध्यक्ष तामाङले भन्नुभयो, ‘एकातिर सहिदहरुको सम्मान हुने अर्को तिर पर्यटन विकासमा समेत यो पार्कको महत्व रहेको छ ।’
बुधबार (भोली) अर्थमन्त्री शर्माले उद्घाटन गर्ने कार्यक्रममा सबै वडाबाट स्थानीयको सहभागीता रहने वडा अध्यक्ष तामाङले जानकारी दिनुभयो ।