काठमाडौँ-नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाली शिक्षा परिषद्को सहकार्यमा नेपाली वाङ्मयका विशिष्ट साधक बालकृष्ण समको १२० औँ जन्मजयन्तीका अवसरमा ‘बालकृष्ण समको व्यक्तित्व, कृतित्व र योगदान’ विषयक परिचर्चा र रचनावाचन कार्यक्रम गरिएको छ ।
प्रज्ञा भवनको देवकोटा सभा कक्षमा सोमबार आयोजित कार्यक्रममा बोल्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली वाङ्मयका विशिष्ट साधक बालकृष्ण समले कविता, नाटक, कथा लगायतका विधामा उत्कृष्ट कृति रचना गरी नेपाली वाङ्मयको उन्नयनमा अतुलनीय योगदान गरेको बताउनुभयो । उहाँले भन्नुभयो– “नेपाली वाङ्मयका प्रायः सबै विधामा समको उत्तिकै विशिष्ट योगदान रहेको छ तर विशेष गरी नाटकका क्षेत्रमा समको योगदान अतुलनीय छ ।”
सदस्य सचिव एवम् दर्शनशास्त्र विभाग प्रमुख प्रा. जगत्प्रसाद उपाध्यायले ‘बालकृष्ण समको व्यक्तित्व, कृतित्व र योगदान’का बारेमा चर्चा सम पारिवारिक परिवेशकै कारण वाङ्मय क्षेत्रप्रति आकर्षित भएको बताउनुभयो ।
उहाँले भन्नुभयो– “बालकृष्ण सम राणा वंशमा जन्मिएता पनि प्रजातन्त्र, न्याय र समानताका साथै देश र जनताप्रति सधैँ चिन्तित रहेको पाइन्छ ।” उहाँले सम नाटक, कविता लगायतका विधाका विशिष्ट साधक हुनुका साथै चित्रकारिता र अभिनयका क्षेत्रमा पनि उत्तिकै विशिष्ट रहेको विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा साहित्य (पद्य/काव्य) विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले स्वागत मन्तव्यका साथै कार्यक्रमको विषयवस्तुबारे प्रकाश पार्नुभएको थियो । सो अवसरमा प्रा.डा. पौडेलले सम बहुमुखी प्रतिभाका धनी भएको बताउनुभयो । उहाँले भन्नुभयो– “नाटक लेखन, कविता लेखनका साथै नाटक निर्देशन र अभिनयमा समेत समको विशिष्ट योगदान रहेको पाइन्छ । समको नेपाली वाङ्मयका क्षेत्रमा विशिष्ट योगदान रहेको छ ।”
कार्यक्रममा साहित्य (लोकवार्ता र बालसाहित्य) विभाग प्रमुख डा. देवी नेपालले समका रचनागत प्रवृत्ति झल्किने प्रतिनिधिमूलक कविताका अंशहरूको वाचन गर्नुभएको थियो ।
कार्यक्रमका सभाध्यक्ष तथा नेपाली शिक्षा परिषद्की अध्यक्ष नेपाल प्रज्ञा–प्रतिष्ठानकी प्राज्ञ सभा सदस्य रमा शर्माले नेपाली साहित्यका विशिष्ट साधक बालकृष्ण समको योगदान नेपाल र नेपाली कहिल्यै भुल्न नसकिने बताउनुभयो ।
कार्यक्रम सुरु हुनुअघि कमलपोखरी र प्रज्ञा परिसरमा अवस्थित बालकृष्ण समको प्रतिमामा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरी श्रद्धा अर्पण गरिएको थियो । कार्यक्रमको सहजीरकरण प्राज्ञ सभा सदस्य शशी लुमुम्बूले गर्नुभएको थियो ।