जनतामाझ जान निर्देशन
काभ्रे–पार्टीलाई जनतामाझ अझ सशक्त बनाउन एमाले पोलिटव्युरो सदस्य एवं पूर्व मन्त्री गोकुल बास्कोटाले जिल्ला पार्टी पंक्तिलाई निर्देशन दिनुभएको छ । संगठन निर्माणभन्दा नेतागिरीमात्रै गर्न खोज्ने प्रवृत्ति हुर्कन लागेको भन्दै बेलैमा बास्कोटाले यसप्रति ध्यानाकर्षण गराउनुभएको हो ।
शुक्रबार बनेपामा १० औं काभ्रे जिल्ला अधिवेशन जन परिचालन कमिटिको प्रथम बैठक शुभारम्भ गर्ने क्रममा सम्बोधन गर्दै उहाँले एमाले जित्दा देशले जित्ने सन्देशसाथ जनतामाझ जान निर्देशन दिनुभयो । उहाँले देशको नक्सा बनाउन एमाले चाहिने,राष्ट्रियता जोगाउन एमाले चाहिने,समृद्ध मुलुक बनाउन एमाले चाहिने भन्दै एमालेले जित्दा यसरी देशले नै जित्ने भएकोले यहि सन्देशका साथ जनतामाझ जानुपर्नेमा जोड दिनुभएको हो ।
जनपरिचालन कमिटिकै बैठक शुभारम्भ भेलामा सबै जनवर्गीय संगठनहरुबाट सन्तोषजनक उपस्थिति नरहेको भन्दै उहाँले जिल्ला नेताहरुप्रति कडा प्रश्न गर्नुभयो ।
विद्यार्थी कमिटिबाट को को सहभागि हुनुहुन्छ ? युवा संघबाट को को हुनुहुन्छ ? यसरी प्रश्न गर्दै सहभगिलाई हात उठाउन लगाएका बास्कोटाले ति संगठनहरुको प्रतिनिधिमुलक संख्या कमजोर रहेको स्पष्ट पार्दै गर्दा जिल्ला नेताहरु मुखामुख गर्दै बसेका थिए । हलमा एकछिन सन्नाटा छायो । पार्टीका जिल्ला इञ्चार्ज,जिल्लाका दुरदर्शी एवं सर्वमान्य नेता बास्कोटाको यो कुराले जिल्ला नेताहरुको सातो लिएको स्पष्ट थियो ।
जनपरिचालनको पाटोमा बोल्दै बास्कोटाले २३ गते विद्यार्थी,युवा,किसान सबैको र्याली फरफरक स्थानबाट निकाल्न सक्नेगरी अधिवेशन तयारीमा लाग्न आग्रह गर्नुभयो ।
नेता बास्कोटाको असन्तुष्टि थियो–‘पार्टी कार्यालयअघि दुवो माढ्दै को अध्यक्ष बन्ने,को सचिव बन्ने भनेर बस्ने हैन । यसरी हुन्छ ? जिल्लाका नेताहरुको परीक्षा यहाँबाट नै सुरु भयो ।’
पार्टीबाट टिकट लिएर जनप्रतिनिधिमा निर्वाचित भएपछि जनप्रतिनिधिहरु दाम्लोबाट भुत्किएका साँढेजस्ता भए भन्ने कार्यकर्ताको गुनासो बढेको बेला बास्कोटाले जनप्रतिनिधिहरुतर्फ पनि प्रश्न गर्नुभएको थियो । जनप्रतिनिधिले अहिलेसम्म लेवी नबुझाएको उहाँको भनाई छ । ‘पार्टीलाई बेवास्ता गर्ने,जनतालाई साथमा बोक्न नसक्ने,लेवी नबुझाउने पार्टीका कोही जनप्रतिनिधिले अर्को चुनावका लागि टिकट माग्ने त के,कहिल्यै मेरो अगाडी नपर्दा हुन्छ ।’–उहाँको भनाई थियो ।
‘हामीलाई जति भोटले जनप्रतिनिधिको रुपमा जिताए,ति सबैलाई साथमा लिएर आउने ।’,उहाँको निर्देशन छ–‘कसरी आउने भन्ने होला,टोलटोलमा बाटो मागेको हैन ? हामीले पुर्यायौं त,अब गाडी चढ्ने आउने ।’ जिल्ला अधिवेशनलाई सम्बोधन गर्न अध्यक्ष केपी ओली आउने जानकारी दिदै बास्कोटाले त्यो दिन ५० हजार जनता सहभागि गराउने हैसियत जिल्ला पार्टीले राख्नुपर्ने बताउनुभयो ।
उहाँले अधिवेशनका बेला पद हानथाप गर्न आउने युवाहरुको पनि ध्यानाकर्षण गराउनुभयो । नोमिनेशन खुल्ने वित्तिकै भाग खोज्न आउने युवाहरुले एमालेको स्पष्ट विचार,सिद्धान्त,कार्यक्रमसाथ जनतामाझ जाने हिम्मत राख्न जरुरी रहेको उहाँको भनाई छ ।
हजारौं संगठित सदस्यमाझबाटै १ सय ५ जना जिल्ला कमिटिमा अट्ने भन्दै प्रतिनिधिसभा सदस्य समेत रहनुभएका नेता बास्कोटाले पालिका कमिटिको नेतृत्व गरिरहेकाहरुलाई पुनः जिल्ला दौडमा नलाग्न अनुरोध गर्नुभयो ।
जनपरिचालन कमिटिका अध्यक्ष कञ्चनअधिकारीले जिल्ला अधिवेशनमा धेरैभन्दा धेरै जनता सहभागि गराउने गरी पार्टीका जनवर्गीय संगठनसम्म पुग्ने योजना रहेको जानकारी दिनुभयो । यहि पुष २३ गते धुलिखेलको फुटवल मैदानमा हुने जिल्ला अधिवेशनबाट काभ्रेली जनतामाझ उत्साहको सन्देश दिनेगरी जनपरिचालनको पाटो सशक्त पार्ने उहाँको प्रतिवद्धता छ ।
बैठक शुभारम्भ भेलामा एमाले जिल्ला अध्यक्ष अशोक व्यञ्जु,उपसचिव इन्द्रबहादुर तामाङ लगायतले पनि मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिना,बनेपा नगरपालिकाका प्रमुख लक्ष्मी नरसिं वादे,पनौती नगरपालिकाका उपप्रमुख गीत बञ्जारा लगायत वडा कमिटिसम्मका जनप्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।