‘दावाफिन्जो तामाङ भेँडीगोठदेखि राष्ट्रिय पञ्चायतसम्म’

काठमाडौँ–सामाजिक तथा राजनीतिक व्यक्तित्व दावाफिन्जो तामाङको जीवनी ‘दावाफिन्जो तामाङ भेँडीगोठदेखि राष्ट्रिय पञ्चायतसम्म’ विमोचन भएको छ । रसुवाली तामाङका सामाजिक सांस्कृतिक पक्षका ज्ञाता तामाङको जीवनीसम्बन्धी पुस्तक ताम्सालिङ नलेज सेन्टरको प्रकाशनमा राजधानीमा बुधबार आयोजित औपाचारीक समारोहकाबीच गुरु काल्साङ रिन्पोछेको वाहुलीबाट विमोचन गरिएको हो ।

भेडीगोठदेखि उठेर तात्कालिक राष्ट्रिय पञ्चायतको उपाध्यक्षसम्म हुन सफल तामाङलाई रसुवा जिल्लाको स्थापना,शिक्षा,स्वास्थ्य,सडक सञ्जाल लगायत सर्वाङ्गीण विकासका युग पुरुषको रुपमा लिइन्छ ।

उहाँको जीवनीबारे विमोचित पुस्तकमाथि पूर्व राजदुत डा.गणेश योञ्जन,मानवशासत्री डा.मुक्तसिंह तामाङ,भाषाविद् अमृत योन्जन तामाङ र नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष एवं लेखक मोहन गोलेले समीक्षात्मका टिप्पणी गर्नुभएको थियो ।

डा.योञ्जनले पुस्तकमा धेरै राम्रोसँग विषय समाविष्ट गरिएको तर राष्ट्रिय निकुञ्जको स्थापनापछि स्थानीयले भोग्नुपरेको पीडाको पाटो पनि संलग्न गरिएको भए उत्कृष्ट हुने बताउनुभयो । मानवशास्त्री लामाले पुस्तकमा दावाफिन्जोको राजनीतिक जीवनका साथै सामाजिक,सांस्कृतिक जीवन पनि समाविष्ट गरिनु पुस्तकको सबल पक्ष रहेको बताउनुभयो ।

भाषाविद् अमृत योन्जनले तामाङले यसरी तामाङ प्रतिभालाई खोज्ने र तिनका जीवनी प्रकाशन शुरु गरिएकोमा खुसी व्यक्त गर्नुभयो । लेखक मोहन गोलेले पनि पुस्तक राम्रो रहेको बताउनुभयो ।

कार्यक्रममा दावाफिन्जो तामाङ तथा उहाँकी धर्मपत्नीप्रति उहाँहरुका मितछोरा लिलाबहादुर श्रेष्ठ (हाल अमेरिका)को तर्फबाट दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यस्तैगरी प्रकाशक ताम्सालिङ नलेज सेन्टरका प्रवन्ध निर्देशक दावादोर्जे लामा,मोहन गोले तथा लेखकद्वय खोजराज गोले र पेमा मोक्तान तामाङलाई पनि दावाफिञ्जो तामाङका परिवारजनका तर्फबाट खादासहित सम्मान गरिएको थियो ।
विभिन्न आठ खण्डहरु तथा छ वटा परिशिष्टहरुसहितको पुस्तक चारसय पेजको रहेको छ । पुस्तकमा दावाफिन्जो तामाङको बाल्यकाल,किशोरावस्था,राजनीतिक जीवन,विकास योजना तर्जूमा शिकारको अनुभव,सामाजिक सांस्कृतिक जीवन साथै विविध अनुभूतिहरु संलग्न गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस !