‘जहाँ जहाँ आवश्यकता हुन्छ त्यहाँ ‘वर्थिङ सेन्टर’

काभ्रे–जिल्लाको चौंरीदेउराली गाउँपालिका वडा नं.३ मा ‘वर्थिङ सेन्टर’ सञ्चालनमा आएको छ । मातृ शिशु स्वास्थ्यलाई ध्यानमा राखेर ‘वर्थिङ सेन्टर’ सञ्चालनमा आएको हो । ग्रामीण क्षेत्रमै यस्तो सेवा पाउने भएपछि स्थानीय खुसी भएका छन् । यसअघि गर्भवती महिलाहरुको ज्यान जोखिममा पर्ने गरेको अवस्थाप्रति वडा तथा पालिका सरकारको ध्यानाकर्षण भएको हो ।

वडा अध्यक्ष विनोद घिसिङका अनुसार सो ‘वर्थिङ सेन्टर’ मा ७ जना स्वास्थ्यकर्मीबाट सेवा थालिएको छ । सो ‘वर्थिङ सेन्टर’ को सेवाबाट वडा नं. ३, रामेछाप जिल्लाका विभिन्न बस्ती र छिमेकी वडाहरूलाई समेत लाभान्वित हुने वडाध्यक्ष घिसिङले बताउनुभयो ।

‘वर्थिङ सेन्टर’ को लागि आवश्यक सामाग्री र पूर्वाधार वडाले तयार पारेपनि यस अघि सेन्टरको लागि स्वीकृती पाएको थिएन । हाल मन्त्रालयबाट स्वीकृती लिई सञ्चालनमा ल्याएको र गाउँपालिकाले हाल आवश्यक ५ जना कर्मचारीको समेत व्यवस्था गरेको वडाध्यक्ष घिसिङले जानकारी दिनुभयो ।

स्थानीय बुद्ध हिमालय माविका प्रधानाध्यापक राजु चौंलागाईंले स्थानीय निर्वाचन पछि यस वडामा शिक्षा क्षेत्रमा निक्कै ठुलो प्रगति भएको बताउँदै माझीफेदामा स्वास्थ्य क्षेत्रमा पनि ठुलो फड्को मारेको प्रतिक्रिया दिनुभयो ।

‘जहाँ जहाँ आवश्यकता हुन्छ त्यहाँ ‘वर्थिङ सेन्टर’

हालै वर्थिङ सेन्टरको उद्घाटन गर्दै गाउँपालिका उपाध्यक्ष ताराकुमारी चौंलागाईंले मातृशिसु स्वास्थ्य प्रति गाउँपालिका गम्भीर रहेको बताउनुभयो । ‘गाउँपालिका मातृ शिशु स्वास्थ्य प्रति गम्भीर छ । कम जोखिम र पूर्ण स्वस्थताका साथ सुत्केरी कसरी गराउने भन्नेमा गाउँपालिका लागेको छ ।’ चौंलागाईंले भन्नुभयो, ‘जहाँ जहाँ आवश्यकता हुन्छ त्यहाँ ‘वर्थिङ सेन्टर’ स्थापना गर्ने हाम्रो प्राथमिकतामै परेको छ ।’

गाउँपालिका स्वास्थ्य क्षेत्रमा देखिएको समस्याहरूलाई समाधान गर्ने र व्यवस्थापन गर्ने सवालमा कुनै पनि हालतमा नचुकेको बताउँदै सो वडामा निर्माण भएको भवन अनुसारको थप सेवा दिन गाउँपालिका तयार रहेको उहाँले बताउनुभयो ।

वडा नं.८ का वडा अध्यक्ष धनबहादुर तामाङले गाउँपालिका भित्र स्वास्थ्य क्षेत्रमा नयाँ तरिकाले विकास भएको बताउँदै वडा नं.३ मा भने अरू वडामा भन्दा फरक हिसाबले भएको पाएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !