‘जनताको स्वास्थ्य प्रति गाउँपालिका गम्भिर छौं ’
- नमोबुद्ध संवाददाता,
काभ्रे–चौंरीदेउराली गाउँपालिकाका जनताले घरदैलोमै विभिन्न रोगको निःशुल्क स्वास्थ्य सेवा पाएका छन् । गाउँपालिकाको आयोजनामा पालिकाको ३ स्थानमा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेपछि स्थानीयले स्वास्थ्य सेवा पाएका हुन् । जर्मन नेपाल सहयोग संघ र विकासका लागि एकतासँगको सहकार्यमा चावहिल डेन्टल अस्पता र नेपाल नेत्र ज्योति संघको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य जाँच तथा निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको थियो ।
विहीवारबाट वडा नं. २ को डिसीडब्लुसि अस्पताल नाग्रेमा गाउँपालिका अध्यक्ष दिननाथ गौतम र उपाध्यक्ष ताराकुमारी चौंलागाईंले संयुक्त रुपमा उद्घाटन गरेर शुरु भएको शिविर शनिबार वडा नं. ६ स्थित देउराली स्वास्थ चौकीमा आएर समापन भएको थियो । उक्त शिविरबाट २ हजार ७८ जना स्थानीयले सेवा लिएका छन ।
वडा नं. २ स्थित डिसीडब्लुसि अस्पतालमा भएको शिविरमा जनरल विरामीहरु महिला १ सय ३५ र पुरुष ८९ गरी २ सय २४, स्त्रीरोग सम्बन्धी विरामीहरु ५७जना, आँखा सम्बन्धी विरामीहरु महिला १ सय ३८ र पुरुष ९४ जना, दाँत सम्बन्धी विरामीहरु महिला ५३ जना र पुरुष ६० जना सहित १ सय १३ जना गरी ६ सय २६ जनाले सेवा लिएका छन ।
वडा नं. ५ को जागृति माविमा भएको शिविरबाट जनरल तर्फ महिला १ सय ३ र पुरुष ८८ गरी १ सय ९१ जना, स्त्रीरोग सम्बन्धी विरामी ८३ जना, आँखा सम्बन्धी विरामी महिला १ सय २१ र पुरुष ७५ गरी १९६ जना, दाँत सम्बन्धी विरामीहरु महिला ८४ र पुरुष ५४ गरी १ सय ३८ जना गरी ६ सय १८ जनाले सेवा लिएका छन् ।
त्यसैगरी वडा नंं ६ स्थित देउराली हेल्थपोष्टमा भएको शिविरबाट जनरल चेकजाँचबाट महिला २ सय १० र पुरुष १ सय १४ गरी ३ सय २४ जना, दाँतसम्बन्धी विरामी महिला १ सय ५ र पुरुष ५१ जना गरी १ सय ५६ जना, आँखा सम्बन्धी विरामी महिला १ सय २३ जना र पुरुष ९३ जना गरी २ सय २२ जना र स्त्रीरोग विरामीहरु १ सय २७ जना गरी ८ सय ३४ जनाले सेवा लिएका छन् ।
शिविरमा सामान्य स्वास्थ्य परिक्षण देखि स्त्रीरोग परिक्षण, दाँत परिक्षण, आँखा परिक्षण, भिडियो एक्सरे, स्वास्थय शिक्षा तथा परामर्श, औषधि वितरण गरिएको थियो । विशेष गरी ग्रामीण क्षेत्रमा रहेका विपन्न, ज्येष्ठ नागरिक, अस्पतालसम्मको पहुँच नभएका स्थानीयहरुले यस शिविरबाट लाभ लिएका छन् ।
स्थानीयमा ल्यायो खुशी
निःशुल्क र गाउँमै स्वास्थ्य सेवा पाएपछि स्थानीय खुशी भएका छन् । विपन्न, दलित र ज्येष्ठ नागरिकहरु गाउँमै निःशुल्क स्वास्थ्य सेवा पाएपछि खुशी भएका हुन् । आर्थिक अवस्था बलियो भएका र शहरमै बसेकाहरुले राम्रो उपचार पाए पनि आफूहरु आर्थिक रुपमा कमजोर र गाउँमै बस्ने भएकोले स्वास्थ्य सेवा लिन नसकेको अवस्थामा गाउँमै सेवा पाएकोले खुशी लागेको वडा नं. ६ का ७६ वर्षिय खड्गराज गिरीले बताउनुभयो । गिरी विगत ३ वर्षदेखि दाँतको समस्याले ग्रसित हुनुहुन्थ्यो । ‘शहरमा जान गा¥हो छ । न आर्थिक अवस्था राम्रो छ न शहरसम्म जान सक्ने शारिरीक अवस्था छ ।’ गिरीले भन्नुभयो ‘समस्या गाउँमै समाधान भयो,गाउँपालिका अध्यक्षज्यूलाई आशिर्वाद र धन्यवाद छ ।’
सोही वडाका ७६ वर्षिय साइला तामाङ पनि विगत ४ वर्षदेखि आँखाको समस्याबाट ग्रसित हुनुहुन्थ्यो । विस्तारै आँखाले देख्न छोड्दै थियो । उहाँको लागि पनि यो शिविर वरदान नै भएको छ । आँखा जचाइसकेपछि तामाङले भन्नुभयो, ‘आँखामा मोतुबिन्दु भएछ । अब अप्रेशन पछि राम्रोसँग देख्न पाउने भयो ।’
स्थानीयले यस्तो प्रकारको शिविर बर्षको कम्तिमा २ पटक आयोजना गर्न गाउँपालिकालाई अनुरोध समेत गरेका छन् । शिविरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महानदास लामा, जनप्रतिनिधिहरु पुग्नुभएको थियो । सो क्रममा विकासका लागि एकताका इन्चार्ज एकराज सापकोटा, कार्यकारी निर्देशक प्रदिप हुमागाई लगायत सहभागि हुनुहुन्थ्यो ।
‘जनताको स्वास्थ्य प्रति गाउँपालिका गम्भिर छौं’
गाउँपालिका अध्यक्ष गौतमले जनताको स्वास्थ्य प्रति आफू र आफ्नो गाउँपालिका सधैं गम्भिर रहेको बताउनुभयो । संविधानले समेत मौलिक हकको रुपमा उल्लेख गरेको स्वास्थ्यलाई विस्तारै निःशुल्क गर्ने तर्फ आफूहरु लाग्ने उहाँको भनाई छ ।
‘जनताको स्वास्थ्य प्रति हामी गम्भिर छौं । शुरुदेखि नै हामी जिम्मेवार ढंगले अघि बढिरहेका छौं ।’ गौतमले भन्नुभयो, ‘राज्यले संविधानमा उल्लेख भएको मौलिक हकको रुपमा रहेको स्वास्थ्यलाई निःशुल्क गर्नुपर्नेछ । हामी यसको लागि पनि लागिरहेका छौं । हालको लागि जनताको आवश्यकतालाई केन्द्रमा राखेर यो शिविरको आयोजना गरेका हौं ।’
आगामी दिनहरुमा सबै प्रकारको पूर्वाधार विकार भएपछि निःशुल्क शिक्षा र निःशुल्क स्वास्थ्यको चरणमा पुग्ने बताउँदै अब त्यो दिन टाढा नभएको जानकारी दिनुभयो ।
गाउँपालिका उपाध्यक्ष ताराकुमारी चौंलागाईंले जनताको घरदैलोमा स्वास्थ्य सेवा दिन निरन्तर प्रयत्नमा रहने बताउनुभयो । अन्य विकासका पूर्वाधार निर्माणको लागि आफ्नो कार्यकाल वितेका बताउँदै उपाध्यक्ष चौंलागाईंले अबको चरणमा शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्ने उहाँको भनाई छ ।