- नमोबुद्ध संवाददाता
धुलिखेल–देशभर झैं काभ्रेपलाञ्चोक जिल्लामा पनि विहीवारदेखि १२ औं राष्ट्रिय जनगणना कार्यक्रम २०७८ अन्तर्गत मुख्य गणना सुरु भएको छ । जनगणनाको पहिलो चरणको काम सुपरीवेक्षकबाट घर तथा घरपरिवार सूचिकरण सकेपछि दोस्रो चरणमा मुख्य गणना सुरु भएको धुलिखेलमा आयोजित पत्रकार सम्मेललनमा जानकारी दिइएको हो । जिल्ला जनगणना अधिकारी दिपक कोईरालाका अनुसार जिल्लाभर ५ सय २१ गणक खटिएका छन् ।
जिल्लाको १३ वटै स्थानीय तहमा पुगेर १२७ जना सुपरिवेक्षकले घरपरिवार संख्या सूचिकरण गरेपछि तिनै घरघरमा विहीवारदेखि गणकहरु खटिएका हुन् ।
१५ दिनमा गणना सक्ने योजनासाथ गणकहरु खटाएको जनाउँदै जिल्ला जनगणना अधिकारी कोईरालाले भन्नुभयो–‘यसअघि शिक्षकहरु खटाउने गरिन्थे,यो पटक निकै जिज्ञासु र सक्षम गणकहरु खटाएका छौं,उहाँहरुमा निकै उत्साह देखिन्छ,यसकारण पनि राम्रो गुणात्मक तथ्यांक प्राप्त गर्ने विश्वास छ ।’
गणकले व्यक्तिगत विवरणदेखि उसको शैक्षिक,सामाजिक,सांस्कृतिक,धार्मिक,आर्थिक लगायतका अवस्था उतार्नेगरी घर तथा घरपरिवार लगत सूचिकरणका २५ र ५५ वटा मूख्य प्रश्नावली भर्नेकाम गर्नेछन् । यो बिचमा सुपरिवेक्षकबाट वडास्तरीय सामूदायिक प्रश्नावली भर्ने काम पनि हुने कोईरालाले जानकारी दिनुभयो ।
जिल्ला जनगणना समन्वय समितिका प्रमुख,प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले यो पटक थप व्यवस्थीत ढंगले जनगणना कार्यक्रम सुरु भएकोले तथ्यांक शुद्धताको हिसावले विश्वमै उत्कृष्ट हुने दावी गर्नुभयो । उहाँको धारणा छ–‘राज्यको स्रोत र जनशक्ति परिचालनका साथै तथ्यांक संकलनको फर्म नमुना हेर्दा यसबाट सत्य तथ्यांक ल्याउन निकै सफलता प्राप्त गर्न सकिने भएकोले यो अन्तराष्ट्रिय अभ्यासमा उत्कृष्ट नै हुन्छ भन्ने लाग्छ ।’
राष्ट्रिय महाअभियान अन्तर्गत जनगणनाका क्रममा लिएका तथ्यांकहरु सुरक्षित रहनेभएकोले अफ्ठ्यारो नमानि घरदैलोमा आउने गणकलाई सहि विवरण उपलब्ध गराई सहयोग गर्न उहाँले सबैमा अनुरोध गर्नुभयो ।
पोखरेलका अनुसार निर्वाचन क्षेत्र निर्धारणका साथै राज्यका सबै जातजाति,भाषा,धर्म,संस्कृति लिंग,समुदायलाई समानुपातिक प्रतिनिधित्व गराउन केन्द्रदेखि स्थानीय तहसम्म योजना निर्माण लगायतका लागि जनगणनाबाट प्राप्त हुने तथ्यांकको प्रयोग गर्ने गरिन्छ ।