- नमोबुद्ध संवाददाता,
काठमाडौं-राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै तिहार पर्वले राष्ट्रिय एकतालाई बलियो बनाउने बताउनुभएको छ ।
तिहारको भाइटिकाको अवसरमा शनिवार शुभकामना सन्देश जारी गर्दै उहाँले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्याउने विश्वास व्यक्त गर्नुभएको हो ।
तिहार मनाउने मौलिक सांस्कृतिक परम्पराले प्रकृति, मानव जीवन र प्राणी जगत्को अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नुका साथै दिदीबहिनी तथा दाजुभाइबीचको आपसी स्नेहलाई गाढा बनाउने उहाँको भनाई छ ।
“तिहारका अवसरमा देउसी, भैलो खेल्ने विशुद्ध नेपाली संस्कृतिले बृहत् सामाजिक एकतालाई प्रगाढ बनाउन मद्दत पुर्याउँछ”, शुभकामना सन्देशमा भनिएको छ ।
झिलिमिली बत्तीको उज्यालोले औँसीको कालो अँध्यारोलाई जित्ने तिहार पर्व एक प्रतिकात्मक उत्सवको रुपमा तिहार मान्दै आएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले दीपावलीका माध्यमबाट प्रकट हुने उज्यालो प्रकाशले हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन पथ प्रदर्शन गर्न सकोस् भन्ने कामना गर्नुभएको हो । यमपञ्चक तिहार अन्तर्गत आज भाइटिका लगाईंदै छ ।