‘मनको डेरा’ र ‘चोलि त राम्रो गोइजीनको’ 

  • नमोबुद्ध संवाददाता,

काठमाडौं–गायक तथा संगीतकार विश्व दोङको दुई सांगीतिक कृति ‘मनको डेरा’ र ‘चोलि त राम्रो गोइजीनको’ शुक्रबार सार्वजनिक भएको छ । बौद्धमा पत्रकार सम्मेलन गर्दै वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङले भिडियोसहितको यो गीत लोकार्पण गर्नुभएको हो ।

‘मनको डेरा’ स्वयं कृतिकारको युटुब च्यानलमार्फत पनि अपलोड गरिएको छ भने ‘चोलि त राम्रो गोइजीनको’ भने अर्को साता सोही च्यानलमार्फत आम दर्शकमाझ आउने जानकारी गराइएको छ । दुवै गीत दोङको शब्द संगीतमा तयार भएको हो । स्वरमा दोङलाई नव प्रतिभा तबु वाइबाले साथ दिनुभएको छ । ‘मनको डेरा’ म्युजिक भिडियोमा तबु र दोङ स्वयंले मोडलिङ गर्नुभएको छ । भिडियो निर्देशन अभि लामाले गर्नुभएको हो ।

“दुवै गीतको लय तामाङ सेलो नै हो,‘मनको डेरा’लेचाँहि अलि आधुनिक धार पकडेको छ,उत्कृष्ट बनाउने प्रयास गरेको छु ।”–स्रोता दर्शकमाझ दर्जनौं चर्चित गीत पस्किसक्नुभएका दोङले पत्रकार सम्मेलनमा भन्नुभयो । आफू अभिनयमा पोख्त नभएपनि यो पटक अनुभवको रुपमा मोडलिङ पाटोमा पनि उत्रिएको उहाँले बताउनुभयो । उहाँले तबु वाइबा सिर्जनशील क्षमताको धनी,उत्तिकै मिहेनती भएकोले आफ्नो टिममा जोडिएको समेत स्पष्ट पार्नुभयो ।

वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङले विश्व दोङ सशक्त प्रतिभा भएको बताउँदै यसरी तामाङ सेलो गीत संगीतमा भएको प्रगतीले नेपाली संगीतका हस्ती स्व. गोपाल योञ्जनको सपना पूरा हुनेतर्फ डोहोर्याएको धारणा व्यक्त गर्नुभयो । संगीतमा श्रीवृद्धि गराउने उहाँका सपना साकार बनाउने अभिभारा अब नयाँ पुस्तामा सर्ने तर्क गर्दै उहाँले तबु वाईबा जस्ता नव प्रतिभाको प्रवेश सुखद रहेको उल्लेख गर्नुभयो ।

नेपाल तामाङ कलाकार संघका अध्यक्ष सञ्जीव वाइबाले विश्व दोङको संयोजनकारी कर्मका कारण राम्रो सांगीतिक कृति आएको बताउँदै सफलताको शुभकामना व्यक्त गर्नुभयो । गीत एरेञ्ज दोङले नै गर्नुभएको हो,मिक्सिङ दिपेश प्रधान र सिनेमाटोग्राफी फराज अर्पणको हो ।

निर्देशक अभि लामाको जन्मदिनमा पारिएको कार्यक्रममा केट काटिनुका साथै अभिको कला यात्रा सफलताको शुभकामना व्यक्त गरिएको थियो ।

भिडियो हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस !