- नमोबुद्ध संवाददाता,
बनेपा–काभ्रेको मण्डन देउपुर नगरपालिका ३ माइती भई पाँचखाल १ अनैकोट घर भएका प्रिती रानी तामाङको सातौं दिनमा बुधबार तामाङ संस्कार अनुसार दाहसंस्कार गरिएको छ । आत्महत्या गरेका तामाङको शव घरपरिवारले वेवास्ता गरेपछि धुलिखेल अस्पतालमा बेवारिसेझैं थियो । घरपरिवारले यातना दिएका कारण आत्महत्या गर्न बाध्य भएका भनिएका प्रितीरानीको शव घरपरिवारले बुझेर बनेपास्थित उग्रतिर्थघाटमा दाहसंस्कार गरिएको हो । हाललाई शवको दाहसंस्कार गर्ने,पिडकलाई कारवाही गर्ने सहमति भएपछि सात दिनमा शव उठेको हो ।
सात दिन बित्न लाग्दा समेत मृतकको शव नबुझेपछि माइतीपक्ष झनै क्रुद्ध थिए । सत्यतथ्य छानवीन गरी कारवाही गर्न माग गर्दै माइती पक्ष मंगलबार जिल्ला प्रहरी कार्यालय काभ्रेको ध्यानाकर्षण गराउन आएका थिए । शारीरिक,मानसिक यातनाले मानसिक रुपमा कमजोर भएपछि आत्महत्या गर्न बाध्य तुल्याएको भन्दै कानुनअनुसार कडा कारवाही हुनुपर्ने प्रितीरानीका दाजु राम वाईबाले बताउनुभयो ।
गाउँमा यो घटनामाथि राजनीतिकरण हुनसक्ने आशंका गाउँलेहरुमा छन् । राजनीतिक दलका स्थानीय जीम्मेवार व्यक्तिहरुले खासै ध्यान नदिएपछि गाउँदेखी गाडी रिजर्भ गरेर धुलिखेल आएका उनिहरुले निस्पक्ष छानविनका लागि दवावस्वरुप प्रहरी कार्यालय अगाडी प्रदर्शन समेत गरेका थिए ।
भिडियोसहित
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार प्रितीरानीले भदौ २४ गते २ बजे माइतीघरमै विष खाएको र उनको अस्पताल ल्याउने क्रममा मृत्यु भएको थियो । प्रितीरानी आत्महत्या गर्नु एक हप्तापूवृ मात्रै माईती आएकी थिईन् । गत वैशाखमा मात्रै माघी विवाह गरेका उनको आत्महत्या निकै रहस्यमयी रहेकोले अनुसन्धान निश्पक्ष रुपमा गर्नुपर्ने मृतकका दिदी राममाया तामाङको भनाई छ ।
प्रितीरानीले आत्महत्या गर्नुपूर्व आफ्ना श्रीमान र सासुआमाकाको नाम लिदै उनिहरुका कारण बाँच्न नसक्ने अवस्थामा पुगेको भनि मोवाईलमा खिचेको भिडियो भेटिएको थियो ।
प्रितीरानीका बुबा नेत्र बहादुर तामाङले जिल्ला प्रहरी कार्यालय धुलिखेलमा आत्महत्या दुरुसान बिरुद्धको किटानी जाहेरी दर्ता गराउनु भएको थियो । घटनाबारे थाहा पाउनासाथ काभ्रे प्रहरीले श्रीमान सुदिप दोङलाई पक्राउ गरिसकेको छ । पिडितपक्षले सासुआमा लक्ष्मी तामाङलाई पनि पक्राउ गरी अनुसन्धान अघि बढाउन दवाव दिएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक(डिएसपी) हरि खतिवडाले आरोपीतलाई पक्राउ गरी अनुसन्धान अगाडी बढाईसकेको जानकारी दिनुभयो । आवश्यक परे सासु आमा लगायत पनि अनुसन्धानको दायरामा पर्ने उहाँले बताउनुभयो ।