• नमोबुद्ध संवाददाता,

धुलिखेल–काभ्रेको मण्डन देउपुर नगरपालिका ३ माइती भई पाँचखाल १ अनैकोट घर भएका प्रिती रानी तामाङको शव धुलिखेल अस्पतालमा एक हप्तादेखि उठ्न सकेको छैन । आत्महत्या गरेका तामाङको शव घरपरिवारले नबुझेको माइती पक्षले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार प्रितीरानीले भदौ २४ गते २ बजे माइतीघरमै विष खाएको र उनको अस्पताल ल्याउने क्रममा मृत्यु भएको थियो । एक हप्ताअघि नै माईती आएका ति महिलालाई श्रम तथा शारीरिक शोषण र मानसिक यातनाका कारण आत्महात्या गर्न बाध्य तुल्याएको माइती पक्षको आरोप छ । सत्यतथ्य छानवीन गरी कारवाही गर्न माग गर्दै आफूहरु जिल्ला प्रहरी कार्यालय काभ्रेको ध्यानाकर्षण गराउन आएको माइती पक्षका राम वाईबाले बताउनुभयो ।

गाउँमा यो घटनामाथि राजनीतिकरण हुनसक्ने आशंका गरेका उनिहरु प्रहरी कार्यालय आएका हुन् । राजनीतिक दलका स्थानीय जीम्मेवार व्यक्तिहरुले खासै ध्यान नदिएपछि गाउँदेखी गाडी रिजर्भ गरेर धुलिखेल भेला भएका उनिहरुले निस्पक्ष छानविनका लागि दवावस्वरुप प्रहरी कार्यालय अगाडी प्रदर्शन समेत गरेको छ । उनिहरुले यसलाई महिला हिंसाको संज्ञा पनि दिएका छन् । मृतकको शव बुझेर संस्कारअनुसारको अन्त्येष्टी,कानुनअनुसार सजाय लगायतको माग उनिहरुले उठाएका छन् । गत वैशाखमा मात्रै माघी विवाह गरेका उनको आत्महत्या निकै रहस्यमयी रहेको माइतीपक्षको दावी छ ।

प्रितीरानीले आत्महत्या गर्नुपूर्व आफ्ना श्रीमान र सासुआमाकाको नाम लिदै उनिहरुका कारण बाँच्न नसक्ने अवस्थामा पुगेको भनि मोवाईलमा खिचेको भिडियो भेटिएको छ । घटनाबारे थाहा पाउनासाथ काभ्रे प्रहरीले श्रीमान सुदिप दोङलाई पक्राउ गरिसकेको छ । पिडितपक्षले सासुआमा लक्ष्मी तामाङलाई पनि पक्राउ गरी अनुसन्धान अघि बढाउन दवाव दिएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक(डिएसपी) हरि खतिवडाले आरोपीतलाई पक्राउ गरी अनुसन्धान अगाडी बढाईसकेको जानकारी दिनुभयो । आवश्यक परे सासु आमा लगायत पनि अनुसन्धानको दायरामा पर्ने उहाँले बताउनुभयो ।

न्यायका लागि अनुसन्धानका साथै माईतीपक्ष र घरपक्षकाबीच संवादको सहजिकरण गरिरहेको प्रहरीले अब छिट्टै स्थानीय जिम्मेवार व्यक्तिहरुबीच समझदारी बनेपछि शव उठ्ने विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस !