संरचना सुरक्षामा चासो,बेलैमा जनतालाई खानेपानी खुवाउने प्रतिवद्धता

  • नमोबुद्ध संवाददाता,

तेमाल–काभ्रेको तिमाल बृहत सुख्खा क्षेत्र खानेपानी आयोजनाको संरचना लगायतमा बाढीले पुर्याएको क्षतिबारे प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल नेतृत्वको टोलीले शुक्रबार अनुगमन गरेको छ ।

पूर्व राज्यमन्त्री एवं संविधानसभा सदस्य,नेकपा एमाले बागमती प्रदेश कमिटि सदस्य रेशम लामा,नेकपा एमाले जिल्ला कमिटिका उपसचिव इन्द्र बहादुर तामाङ,एमाले जिल्ला सदस्य एवं तेमाल ग्रामीण सामुदायिक विद्युतिकरण सहकारी संस्थाका सचिव इन्द्रमान तामाङ,स्थानिय जनप्रतिनिधि,पत्रकार लगायतको टालीले चुखावेशी सुनकोशीमा हालै आएको बाढीबाट भएको क्षतिबारे अनुगमन गर्दै यसको सुरक्षामा चासो व्यक्त गरेको हो ।

अनुगमन टोलीलाई खानेपानी आयोजनाका अध्यक्ष संग्रामजीत लामा,एमाले उपसचिव एवं समाजसेवी इन्द्र बहादुर तामाङ,तेमाल १ नं. वडाध्यक्ष मान बहादुर श्रेष्ठ, २ नं. वडाध्यक्ष तिमाल सिं तामाङ,स्थानीय शिक्षक उत्तर तामाङले बाढी आई कटानबाट खानेपानी आयोजनाको संरचनाका साथै किसानहरुको खेतबारीमा पुर्याएको क्षतिबारे अवगत गराउनुभएको थियो । खानेपानी आयोजनाका अध्यक्ष लामाले आयोजनामा ५० लाख बराबरको क्षति भएको जानकारी गराउनुभयो ।

बाढीले वेसट्यांकी अधिक जोखिममा परेको उल्लेख गर्दै उहाँले  २ सय मिटर तार जाली,२ सय मिटर जिआई पाईप,बोरिङ भवन लगायत बगाएको जनाउनुभयो । यद्यपी उहाँले निर्माण कम्पनी,सरकारी निकाय लगायतसँग समन्वय गरी बेलैमा जनतालाई खानेपानी खुवाउने प्रतिवद्धता जनाउनुभयो । २०७८ सालभित्र घरघरमा खानेपानी वितरण गर्नेगरी द्रुत गतिमा काम भईरहेको उल्लेख गर्दै अध्यक्ष लामाले दुई चरणका काममध्ये मुख्य पाइप जडान,ट्यांकी निर्माण,पानी पम्पीङ परीक्षण लगायतका काम सम्पन्न भइसकेको जानकारी दिनुभयो ।

स्थानीय शिक्षक उत्तर तामाङले खानेपानी संरचनाका साथै स्थानीयको थुप्रै रोपणी वालीसहितको खेतबारी कटान गरेको,विद्यालय भवन,स्वास्थ्य चौकी लगायतका सम्पदाहरु पनि जोखिममा परेको जानकारी दिदै यसप्रति स्थानीय सरकार र प्रशासनको ध्यानाकर्षण गराउनुभयो ।

प्रमुख जिल्ला अधिकारी पोखरेलले बाढीको कटानले परेको समस्याप्रति दुख व्यक्त गर्दै खानेपानी आयोजना,स्थानीयको खेतबारी,सम्पदा लगायतमा पुगेको क्षतिबारे सम्बन्धित निकायमा जानकारी गराई आवश्यक प्रक्रिया चाल्न सहजीकरण गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले भन्नुभयो–“हामीले क्षतिको अवस्था हेर्यौं,तत्काल प्रशासनमार्फत क्षतिपुर्ति दिने अवस्था त छैन तर काम गर्ने निकायहरु छन्,हामी यो अवस्थाको अवगत गराउछौं,यो समस्या समाधानमा सहजिकरण हुन्छ,जसरी यहाँ राजनीतिक दल,जनप्रतिनिधिहरुको समन्वय छ यसरी नै हामीले समस्याको समाधान गर्न सक्छौं ।”

संविधानसभा सदस्य,पूर्व राज्यमन्त्री रेशम लामा र एमाले जिल्ला कमिटि उपसचिव इन्द्र बहादुर तामाङले जनताको माग सुनुवाईका लागि पहल गर्ने वचन दिनुभयो । खानेपानी आयोजनाको संरचना बचाउने, स्थानीयको मर्का सम्बोधन गर्ने काममा आफूहरु संवेदनशील रहेको एमाले नेता इन्द्र बहादुर तामाङको भनाई छ ।

“प्रमुख जिल्ला अधिकारी स्वयंले अनुगमन गर्नुभयो,अरु काम हामी गर्छौं ।”,पूर्व राज्यमन्त्री एवं एमाले नेता लामाले भन्नुभयो ।

जिल्लाको तेमालका साथै नमोबुद्ध र रोशीका केहि बस्तीमा समेत करिव ६० हजार जनतालाई खानेपानी वितरण गर्ने गरी ६ वर्ष अघि सुरु भएको तिमाल बृहत सुख्खा क्षेत्र खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । १ अर्व बढि लगानीमा जारी यो योजनाको सुनकोशी छेउको डिपवोरिङ क्षेत्रको संरचनाका साथै स्थानीय बस्तीनै जोखिममा पर्नेगरी कोशीले कटान गरेपछि अनुमगन गरिएको हो ।

अनुगमन टोलीमा तेमाल १ नं. वडाका वडाध्यक्ष मानबहादुर श्रेष्ठ,२ नं. वडाध्यक्ष तिमाल सिं तामाङ,वडा सदस्य डिल्लीमान तामाङ,इन्सेक प्रतिनिधि हिरामान लामा,युवा संघका केन्द्रीय सदस्य नेरु लामा,खुसराज लामा,पत्रकार महासंघ काभ्रेका सहसचिव जगत तामाङ,पत्रकार विकास तिमल्सिना र प्रदिप भण्डारी समेत हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस !