- नमोबुद्ध संवाददाता,
भकुण्डेबेशी–काभ्रेको नमोबुद्ध नगरपालिकाले जलवायु परिवर्तनका कारण स्थानीयस्तरमा आइपर्ने विपदको कसरी व्यवस्थापन गर्न जलवायु परिवर्तन अनुकुलन र विपद व्यवस्थापनबारे कार्ययोजना निर्माणको काम सुरु गरेको छ । जलवायु परिवर्तनबाट आइपर्ने समस्यासँग जुध्ने रणनीतिसहित नगरलपालिकाले कार्ययोजना निर्माणको काम सुरु गरेको नगरप्रमुख टिपी शर्माले बताउनुभयो ।
शर्माले जलवायु परिवर्तनका असरलाई न्यूपनकरणको प्रयास थालिएको वताउँदै वन तथा वातावरण मन्त्रालयको सहकार्यमा अघिल्लो बर्षबाटै जलवायु परिवर्तन अनुकुलन कार्यक्रम थालिएको उल्लेख गर्नुभयो । उहाँले दीगो विकासलाई लक्षित गर्दै जलवायु परिवर्तन अनुकुलन र विपद व्यवस्थापनबारे कार्ययोजना बनाइने जानकारी दिनुभयो । शर्माका अनुसार यहि योजनाअन्र्तगत हालै जलवायु परिवर्तन अनुकुलन तथा विपद व्यवस्थापन कार्ययोजना तयारीसम्वन्धी कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।
गोष्ठीमा वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. राधा वाग्लेले विकसित मुलुकले गरेको विकासको असर विकासोन्मुख मुलुकहरुमा पनि परेको बताउनुभयो । पछिल्लो समय त्यसैको प्रभावका कारण तापक्रम वृद्धि हुने क्रम तीब्र भइरहेको भन्दै उहाँले ग्रामीण क्षेत्र पनि जलवायु परिवर्तनको असरबाट निकै प्रभावित भएको धारणा व्यक्त गर्नुभयो । ग्रामीण क्षेत्रलाई लक्षित गर्दै कार्ययोजना बनाउने क्रममा नमोबुद्ध नगरपालिकासँगको सहकार्यमा स्थानीयस्तरको आफ्नै कार्ययोजना निर्माण गर्न लागेको उहाँको भनाई थियो । अहिले नमुनाको रुपमा नमोबुद्धसहित मुलुकका चारवटा स्थानीय तहमा जलवायु परिवर्तन अनुकुलन कार्यक्रम सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले औधोगिकीकरण बढेसँगै पृथ्वीको तापक्रम बढ्दै गएको र यो गरिब मुलुकका लागि अभिषाप बनेको बताउनुभयो । कार्यक्रममा इकार्डस् नेपालका नवराज दाहाल र प्रशान्त पौडेलले जलवायु परिवर्तनबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।