• नमोबुद्ध संवाददाता,

काभ्रे–प्रदेश सांसद चन्द्र लामा बागमती प्रदेशको भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त हुनुभएको छ । प्रदेशसभाको गत निर्वाचनमा कांग्रेसका गणेश लामालाई पराजित गर्दै काभ्रे क्षेत्र नं. १(२) बाट निर्वाचित लामाले बुधबार अष्टलक्ष्मी शाक्य नेतृत्वको प्रदेश सरकारको कृषि मन्त्रीमा सपथ ग्रहण गर्नुभएको हो ।

मन्त्रीको जिम्मेवारी नपाउँदै उहाँको निर्वाचन क्षेत्रमा जनताको आवश्यकता,‘समृद्ध नेपाल सुखी नेपाली’ महत्वकांक्ष केन्द्रित विकास निर्माणका योजना अघि सारेर चर्चा पाएका सांसद लामाले प्रदेशकै मन्त्रीको जिम्मेवारी पाएकोमा काभ्रेली जनतामा उत्साह छाएको छ ।

काभ्रेली जनता तथा समग्र युवा संघ र युवा जमातमा सशक्त रहेका नेकपा एमालेका युवा नेता लामा यसअघि डोरमणी पौडेल नेतृत्वको सरकारमा नै मन्त्री हुने चर्चा थियो ।

अरु ५ मन्त्री र ४ राज्यमन्त्री

मुख्यमन्त्री शाक्यले शाक्यले बुधबार नै काभ्रेका लामासहित ६ जना मन्त्री र ४ जना राज्यमन्त्री थप गर्दै मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । केशवराज पाण्डेले भौतिक पूर्वाधार, रचना खड्का आर्थिक मामिला तथा योजना, विजय सुवेदी समाजिक विकास, शान्तिप्रसाद पौडेल उद्योग, पर्यटन, वन तथा वातावरण, प्रदीपकुमार कटुवाल क्षेत्री स्वास्थ्य, डा. अजयक्रान्ति शाक्यले आन्तरिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

यसअघि आन्तरिक मामिला मन्त्री रहेका पाण्डेलाई विस्तारित मन्त्रिपरिषद्मा भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको हो । प्रदेश सरकारमा जीवन खड्का भौतिक पूर्वाधार विकास, जुनेली श्रेष्ठ सामाजिक विकास, बद्री मैनाली भूमि व्यवस्था कृषि तथा सहकारी र जुनेली श्रेष्ठलाई सामाजिक विकास राज्यमन्त्री नियुक्त गरिएको छ ।

६ जना मन्त्रीहरुलाई प्रदेश प्रमुख यादव शर्मा र राज्यमन्त्रीहरुलाई मुख्यमन्त्री शाक्यले शपथ ग्रहण गराउनुभएको हो ।
यसअघि दुई सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी शाक्यको नेतृत्वको प्रदेश सरकार १२ सदस्यीय भएको छ ।

नेकपा एमालेबाट चोईटिएर बनेको नेकपा एकीकृत समाजवादीमा १३ सांसदले सनाखत गराएपछि शाक्य नेतृत्वको सरकार भने अल्पमतमा देखिन्छ ।

प्रतिक्रिया दिनुहोस !