१३ जना प्रमुख उपप्रमुख,कार्यपालिका र वडाका २ सय ८८ जना जनप्रतिनिधि एमालेमै

  • नमोबुद्ध संवाददाता,

धुलिखेल–काभ्रेमा माधवकुमार नेपाल नेतृत्वको नयाँ दल नेकपा एकिकृत समाजवादी कमजोर देखिएको छ । नेकपा एमालेबाट निर्वाचित ५६ जना(१६ प्रतिशत) जनप्रतिनिधिले मात्रै पार्टी परित्याग गरी नयाँ पार्टी रोजेपछि नयाँ पार्टी समाजवादी कमजोर सावित भएको हो । समाजवादीमा नेकपा एमालेका पुराना नेताहरुको अनुहार बढि देखिएकोले काभ्रेमा समाजवादी सशक्त रहने चर्चा थियो ।

अन्तिम समय मंगलबार मण्डन देउपुर नगरपालिका प्रमुख टोकबहादुर वाईवा,नमोबुद्ध नगरपालिका उपप्रमुख रामदेवी तामाङ र भुम्लु गाउँपालिका उपाध्यक्ष कल्पना श्रेष्ठ सहित ११ वडा अध्यक्ष र ३२ जना वडा सदस्यले मात्रै नयाँ दलमा सनाखत गरेका छन् । जिल्लाभरबाट सोचेजस्तो जनप्रतिनधिहरु सनाखत गर्न नआए पछि नयाँ पार्टी प्रतिको आर्कषण छैन भन्ने पुष्टी गराएको छ ।

टोक बहादुर वाईबा आफैं मेयर रहेको मण्डन देउपुर नगरपालिकामै उहाँ नेतृत्वको पार्टी कमजोर सावित भएको छ । मण्डन देउपुर नगरपालिकामा नेकपा एकिकृत समाजवादी तेश्रो स्थानमा खुम्चिन पुगेको हो । गत चुनावमा पहिलो दल नेकपा एमालेले ४३ सिटमा विजयी गरेकोमा १५ जना मात्रै नयाँ पार्टीमा प्रवेश गरेका छन् । यहाँ १७ जना जनप्रतिनिधि रहेको नेपाली काँग्रेस दोस्रो पार्टी बनेको छ ।

पुर्वमन्त्री गोकुल बास्कोटाको वडाका वडा अध्यक्ष भुवनप्रसाद बजगाईले समाजवादीलाई साथ दिएको हल्ला चलाएपनि अन्ततः एमाले नै रोजे ।  नगर प्रमुख एक,वडा अध्यक्ष ५ र ९ जना वडा सदस्यले नयाँ दल रोजे । मण्डन देउपुर वडा नम्वर १ का वडा अध्यक्ष लक्ष्मण बस्ताकोटी, वडा नम्वर ३ का अध्यक्ष दिलबहादुर तामाङ, वडा नम्वर ६ का अध्यक्ष डिल्लीप्रसाद आचार्य, वडा नम्वर ७ का अध्यक्ष नारायण लम्साल, वडा नम्वर ११ का अध्यक्ष माधव न्यौपानेले मात्रै नयाँ दलमा सनाखत गराएका हुन् ।

जिल्लाको पनौती वडा नम्वर ४ का अध्यक्ष बुद्धसीं थापा, बनेपा ६ का अध्यक्ष सचितानन्द केसी,पाँचखाल ६ का अध्यक्ष रामशरण दुलाल, महाभारत ८ का अध्यक्ष टंक आले, भुम्लु गाउँपालिका वडा नम्वर २ का अध्यक्ष कृष्णकुमार कार्की र वडा नम्वर ८ का अध्यक्ष मोतीलाल तामाङले पनि नयाँ दल रोजेका छन् । यसबाहेकका अन्य स्थानीय तहहरुमा एमाले छाड्ने जनप्रतिनिधि शुन्य देखिएका छन् ।

स्थानीय तहको गत निर्वाचनमा एमालेले जिल्लाभर ३ सय ४४ सिटमा विजयी हासिल गरेको थियो । १ सय ३५ वटा वडा रहेको काभ्रेमा नेपाली काँग्रेसले २ सय २१ र माओवादी केन्द्रले १ सय २१ सिटमा विजयी हासिल गरेको थियो । अन्य तर्फ ८ जना विजयी भएका थिए ।

जिल्लाको ठुलो दल नेकपा एमालेले १३ मध्ये ७ वटा पालिका र जिल्ला समन्वय समितिको प्रमुख उपप्रमुखमा विजयी हासिल गरेको थियो । अझै १३ जना प्रमुख उपप्रमुख र २ सय ८८ जना(कार्यपालिका र वडाका) जनप्रतिनिधि एमालेमै छन् ।

प्रतिक्रिया दिनुहोस !