
जिल्लामा बार्षिक १ अर्ब बढि रकम विभिन्न योजनाका लागि विनियोजन
- नमोबुद्ध संवाददाता
काभ्रे–बागमती प्रदेशका सांसद चन्द्र लामाले आफ्ना क्षेत्रका महत्वपुर्ण सडक आयोजनाहरुले छिट्टै साकार रुप लिने बताउनुभएको छ । काभ्रे १(२) बाट निर्वाचित सांसद लामाले आफ्ना क्षेत्रको मुहार फेर्ने गरी आफूले अघि सारेका विभिन्न विकासका योजनाहरुलाई बजेटको अभाव हुन नदिएको र त्यसमा विकासको मत्वपूर्ण पूर्वाधार सडक आयोजनाहरुले मुर्त रुप लिदै गरेको जानकारी दिनुभयो ।
गौरीशंकर साना किसान कृषि सहकारी संस्था धुलिखेल १२ शंखुपाटीचौरका सदस्यहरुलाई प्रदेश सरकारको सहयोगमा कृषि ज्ञान केन्द्र मार्फत ५० प्रतिशत अनुदानमा शनिबार कृषि यन्त्र उपकरण हस्तान्तरण गर्दै सांसद लामाले यस्तो बताउनुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथि लामाले भन्नुभयो–“कृषि,सडक,पुल,खानेपानी,सिंचाई,शिक्षा,स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट विनियोजन गरिएको छ,हाम्रा क्षेत्रका महत्वपूर्ण सडकहरु धमाधम निर्माण भईरहेका छन् ।”
जिल्लामा बार्षिक १ अर्ब रकम विभिन्न योजनाका लागि विनियोजन गरिएको उल्लेख गर्दै सांसद लामाले डाँडापारी,रोशी,पनौती सम्मका आफ्ना निर्वाचन क्षेत्रमा पर्याप्त बजेट विनियोजन भई धमाधम निर्माण कार्य भईरहेकोमा विपी राजमार्ग–पनौती–ग्वार्को सडक निर्माणले छिट्टै मुर्त रुप लिने बताउनुभयो ।
“विपी राजमार्गबाट ग्वार्को जोड्ने सडक छिट्टै निर्माण सम्पन्न हुनेछ,कुशादेवी नमोबुद्ध सडकका लागि पनि ५३ करोड रकम विनियोजन भई कार्य भईरहेको छ,एउटै निर्वाचन क्षेत्रमा ११ वटा पुल निर्माण भईरहेकोमा यहि सडक खण्डमा २ वटा पक्कि पुल पनि निर्माण भईरहेको छ”,उहाँले भन्नुभयो– “समग्रमा मेरा क्षेत्रका सडक योजनाहरुको निर्माणले गति लिएको छ ।” उहाँले दाहालटार–कटुञ्जे सडक निर्माणका लागि प्रदेश सरकारको १० करोड र संघ सरकारको १० करोड रकम विनियोजन भएको जानकारी पनि दिनुभयो ।
किसानलाई अनुदानमा कृषि सामाग्री
सांसद लामाले विगतमा कृषिमा हुने कार्यक्रम र अनुदानको दुरुपयोगका कारण बास्तविक किसानहरु संकटमा परेको बताउँदै यसप्रति सचेत रहन सबैलाई आग्रह गर्नुभयो । कृषिको पकेट क्षेत्र निर्माण गरी नागरिकहरुको आय स्तर बृद्धी गर्न आवश्यक पर्ने पूर्वाधार निर्माण र प्रविधि सहितको यन्त्र हस्तान्तरणमा आफ्नो विशेष ध्यान गएको उहाँको भनाई छ ।
वडा अध्यक्ष हर्कबहादुर तामाङले जनप्रतिनिधि विहिन अवस्थाबाट जनप्रतिनिधि आए लगत्तै शुरु भएको विकास निर्माणले वडालाई नमुना बनाउन सहज भएको उल्लेख गर्दै कृषिलाई व्यवसायीकरण गरी किसानको जीवन परिवर्तनमा प्रदेश सांसद तथा प्रदेश सरकारको महत्वपुर्ण भुमिका देखिएको बताउनुभयो ।
कार्यक्रममा गौरीशंकर साना किसान कृषि सहकारी संस्थाका किसानहरुलाई ५० प्रतिशत अनुदानमा ११ वटा ७/५ हर्स पावरको जोत्ने ट्रयाक्टर, ७ थान पिठो पिंध्ने मेशिन, एक थान धान र पिठो दुबै पिध्ने मेशिन, ५ थान मकै छोडाउने मेशिन,७ थान टनेल र स्पे्र पम्प २० थान यन्त्र उपकरण कृषकहरुलाई हस्तान्तरण गरिएको छ ।
धुलिखेल नगरपालिका वडा नम्वर १२ र १०,नमोबुद्ध नगरपालिका वडा नम्वर ११ र पनौती नगरपालिका वडा नम्वर ९ र १० का १ हजार ६ सय सदस्य रहेको उक्त सहकारीले हरेक वर्ष कृषिमा यन्त्र उपकरण सहितको प्रविधि उपलब्ध गराउँदै कृषकहरुलाई आवश्यक पर्ने विउविजन, तालिम र अन्य कृषि क्षेत्रका सहयोगहरु उपलब्ध गराउँदै आएको संस्थाका अध्यक्ष सिताराम भट्टराईले जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष मोतिराम तिमल्सिनाको विशेष आपतथ्यता रहेको कायृक्रममा अध्यक्ष भट्टराईले यन्त्र उपकरणका लागि प्रदेश सभा सदस्य चन्द्र लामा,सञ्चार क्षेत्रबाट किसानहरुमा उत्साह जगाउने पत्रकार तिमल्सिना लगायतलाई धन्यवाद ज्ञापन गर्नुभयो ।