• नमोबुद्ध संवाददाता,

काभ्रे- ‘निषधाज्ञा तथा सिल’का कारण समस्यामा परेका ज्यालादारी र श्रमिक मजदुरलाई युवा समाजसेवी विकास योञ्जनले हालै राहतस्वरूप खाद्यसामग्री वितरण गर्नुभएको छ ।

योञ्जनले ‘कोही रोगलेभन्दा भोक मर्नु नपरोस्’ भन्ने उद्देश्यका साथ व्यक्तिगत रुपमा महाभारत गाउँपालिका स्थायी घर भइ जिल्लाको बनेपा,पनौती,धुलिखेल लगायतका क्षेत्रमा ज्याला,मजदुरी गरेर गुजारा चलाउँदै आएका मजदुरहरुलाई राहत वितरण गर्नुभएको हो ।

उहाँले प्रति व्यक्ति तथा परिवारलाई एक बोरा चामल, एक किलो दाल,एक लिटर तेल,एक किलो मस्याउरा लगायतका खाद्यसामग्री वितरण गर्नुभएको जानकारी दिनुभयो ।

निशेधाज्ञा अवधिभर काम गर्न नसक्ने परिवारलाई र आम्दानीको अन्य स्रोत नभएकालाई राहत वितरण गरिने उहाँले बताउनुभयो ।

“विशेषगरी काम गरिखाने र दैनिक मजदुरी गरेर खाने श्रमिक तथा मजदुर पहिलो प्राथमिकतामा रहेका छन्”, उहाँले भन्नुभयो-,”अहिले छुटकाहरुलाई केही दिनभित्र तेस्रो पटकमा वितरण गर्ने बेला समेट्ने गरी विवरण संकलन गर्दैछु ।”

त्यस्तै उहाँले बन्दको कारण बाहिर निस्किन र बनेपाबाट टाढा रहेका मजदुरको लागि कोठा–कोठा पुगेर खाद्यसामग्री वितरण गरिएको बताउनुभयो ।

दुई पटक गरेर हालसम्म ५० जनाभन्दा बढीलाई यसअघि नै खाद्य सामग्री वितरण गर्नुभएका योञ्जनले भन्नुभयो-“निशेधाज्ञा अझै लम्बिँदै गएमा राहत वितरण कार्यलाई निरन्तर राख्दै जानेछु ।”

त्यस्तै,योञ्जनले बनेपास्थित घरमा बस्नेको एक महिनाको भाडा आफुले नलिने प्रतिबद्धता जनाउनुभयो । घरमा रहेको दश वटा कोठामा भाडामा बस्नेहरु छन् । समाजसेवी योञ्जनको यो घोषणाले उनिहरु लाभान्वित हुने भएका हुन् ।

महाभारतको वडा स्तरमै खाद्यसामग्री पुर्याउने तयारी

व्यक्तिगत रुपमा खाद्यसामग्री बाँड्दै आउनुभएका योञ्जनले महाभारत गाउँपालिकाका प्रत्येक वडामा पुगेर ज्याला मजदुरी गर्ने,घरमा अन्नको जोहो गर्न नसक्ने विपन्न परिवारलाई अवस्था र परिवार संख्या हेरेर राहत वितरण गर्ने बताउनुभयो ।

लकडाउनले दैनिक कामकाज गरेर पेट पाल्ने परिवार काम नहुँदा भोकै बस्न नपरोस् उद्देश्यले वडाहरुमा पुगेर खाद्यसामग्री वितरण गर्न लागेको उहाँको भनाई छ । यसअघि पनि विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका युवा समाजसेवी योञ्जनले पछिल्लो समय राहत तथा खाद्यसामग्री वितरणको कामलाई तीव्र पार्नुभएको हो ।

फोटो : इकमान लामा

प्रतिक्रिया दिनुहोस !