• नमोबुद्ध संवाददाता,

रोशी-नेपाली काँग्रेसका नेता गणेश लामाले बुधबार काभ्रेको रोशी गाउँपालिका खहरेपाँगुस्थित अस्थायी कोभिड अस्पताललाई अक्सिजन सहितको सिलिण्डर प्रदान गर्नुभएको छ ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरू दाहालका अनुसार नेता लामाले अस्पताललाई ३ थान अक्सिजन सिडिन्डर आज प्रदान गर्नुभएको हो । यो अक्सिजन एम्बुलेन्समा राखेर विरामीलाई थप उपचारका लागि अन्य ठाउँमा लैजान र भकुण्डे स्थित पालिकाको आईसोलेसन सेन्टरसम्म ल्याउन मद्दत पुग्ने प्रमुख प्रशासकीय अधिकृत दाहालले बताउनुभयो ।

रोशी गाउँपालिकाले नमोबुद्ध नगरपालिकासँग मिलेर भकुण्डेमा आईसोलेसन सञ्चालन गर्दै आएको छ । यो आईसोलेसनमा सानो ठूलो गरी ४० वटा अक्सिजन छन् । तर खहरेपाँगु अस्थायी कोभिड अस्पतालमा भने अक्सिजन पर्याप्त थिएन् । यसैलाई मध्यनजर गर्दै नेता लामाले अक्सिजनसहितको सिलिन्डर प्रदान गर्नुभएको हो ।

नेता लामाले आवश्यकता अनुसार अन्य स्वास्थ्य सामग्री पनि उपलब्ध गराउने बचन दिनुभएको छ ।

“यो कोरोना भाइरस कोभिड-१९ महामारी संकटको बेला जसले जति सकिन्छ, त्यत्ति सहयोग गर्नुपर्छ,परिस्थिति हेरेर अन्य स्वास्थ्य सामग्री पनि उपलब्ध गराउने छु ।”- लामाले प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस !