अब महाभारतमै कोरोना परीक्षण सेवा पनि उपलब्ध

  • नमोबुद्ध संवाददाता,

महाभारत-काभ्रेको महाभारत गाउँपालिकामा १० बेडको काोभिड अस्थायी अस्पताल सञ्चालनमा आएको छ । कोरोना भाइरस कोभिड–१९ को दोस्रो लहरको संक्रमणदर बढ्दै गएपछि नियन्त्रणका लागि गाउँपालिकाले आवश्यक भौतिक पूर्वाधार र स्वास्थ्यकर्मीसहितको अस्पताल सोमबारदेखि सञ्चालनमा ल्याएको पालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिनुभयो ।

जिल्लाकै विकट गाउँपालिकाको रूपमा चिनिएको यस पालिकाबाट बिरामी अस्पतालसम्म लानलाई निकै कठिन भइरहेको बेला वडा नं ८ घर्तीछापमा यो अस्थायी अस्पताल निर्माण भएपछि जनतालाई धेरै राहत मिलेको छ ।

पालिका अध्यक्ष जिम्बाले भन्नुभयो-“यहाँ अस्पताल नभएकोले जुनसुकै बिरामीलाई जिल्लाको सदरमुकामसम्म लानलाई समेत कठिन भइरहेको हिजो देखिको समस्या हो । यो कोभिड–१९ महामारीमा बिरामीलाई सदरमुकामसम्म लानलाई झन् ठुलो समस्या आइलागेकोले कोभिड–१९ सङ्क्रमितलाई यहीँ उपचार गर्न यो अस्थायी अस्पताल स्थापना गरेका हौं ।”

उहाँका अनुसार अस्पतालमा कोभिड संक्रमितले हाललाई भेन्टिलेटर र आइसियु बाहेकको सबै सेवा पाउनेछन् । अस्पतालमा १० बेडको आइसोलेसन कक्ष,५ वटा अक्सिजन सिलिन्डर,३ वटा अक्सिजन कन्सनटेटर रहेको अस्पतालमानसेवा दिन आवश्यक जनशक्ति (स्वास्थ्यकर्मी चिकित्सक) परिचालन गरिएको छ ।

अस्पतालमा डाक्टर १ जना, स्टाफ नर्स २ जना, १ जना ल्याब असिस्टेन्ट, एचए १, अहेब २ , अनमि ३, कास २ गरी १२ जनाले निशुल्क सेवा दिइरहेको अध्यक्ष जिम्बाले बताउनुभयो ।

यहाँ आधा घण्टा भित्रमा एन्टीजेन टेस्ट मार्फत कोरोना परीक्षण को व्यवस्था समेत गरिएको छ । पहिलो दिन सोमबार मात्र सो प्रविधिबाट ४ जनाको कोभिड–१९ परीक्षण गरिएको थियो ।

मंगलबारको पछिल्लो जानकारी अनुसार महाभारत गाउँपालिकामा कोभिड-१९ का ४२ जना सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस !