एक महिनामा काम सक्नेगरी टेन्डर आह्वान
- नमोबुद्ध संवाददाता,
हेटौंडा-बाग्मती प्रदेश सरकारले काभ्रे लगायतका प्रदेश मातहतका सबै अस्पतालहरुमा अक्सिजन प्लान्ट स्थापना गर्न मंगलबार टेण्डर आह्वान गरेको छ । कोभिड महामारीलाई मध्यनजर राख्दै प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक खरिद अनुगमन कार्यालय मार्फत एक हप्ताको समय सिमा राखेर टेण्डर आह्वान गरेको हो ।
मन्त्रालयले काभ्रेको मेथिनकोट,काठमाडैंको टोखा, ललितपुरको बज्रबाराही,दोलखाको चरिकोट,रामेछापको रामेछाप अस्पताल,धादिङ अस्पताल,सिन्धुपाल्चोकको चौतारा अस्पताल र चितवनको बकुलहर अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न लागेको हो । यी अस्पतालहरुमा अक्सिजन अभाव नहोस् भनेर एक महिनाभित्र प्लान्ट स्थापना गरिसक्ने मन्त्रालयले जनाएको छ ।
यसअघि अक्सिजन प्लान्ट नभएका अस्पतालहरुमा पनि प्लान्ट निर्माण गर्ने निर्णयअनुरुप प्लान्ट निर्माण गर्न लागेको मन्त्रालयले जानकारी दिएको छ ।
“एक महिनाभित्र अक्सिजन प्लान्ट स्थापना भैसक्छ”-सामाजिक विकास मन्त्री सरस्वती बस्नेत
प्रदेशका सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले एक महिनाभित्र ती अस्पतालहरुमा अक्सिजन प्लान्ट स्थापना गर्ने गरि छोटो प्रक्रियाबाट खरिद प्रक्रिया सुरु गरेको बताउनुभयो ।
प्रदेश मातहतमा रहेका १३ मध्ये ६ वटा अस्पतालमा यश अघि नै सन्चालनमा रहेको छ र बाँकी अस्पतालमा स्थापना गरेर प्रदेश मातहतका सबै अस्पतालहरुलाई सुबिधायुक्त बनाउन अक्सिजन प्लान्ट राख्न लागिएको बताउनुभयो ।
साथै मन्त्री बस्नेतले कोभिड विरुद्ध लड्नका लागि कुनै कसर बाकी नराख्ने भन्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताउनुभयो ।
यस अघि सामाजिक विकास मन्त्रालयले प्रदेशको १३ वटै जिल्लामा एकएक वटा पीसीआर मेसिन राख्ने निर्णय गरिसकेको छ ।
कोभिडको दोस्रो लहर बढेसङ्गै बागमती प्रदेश सरकारले ‘एक जिल्ला एक पीसीआर मेसिन’ राख्ने निर्णय गरेर आवश्यक प्रक्रिया अघि बढाइ सकेको छ ।