नमोबुद्ध संवाददाता,

काठमाडौं-राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा सदस्यलाई संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीको लागि आधार प्रस्तुत गर्न समय तोक्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत प्राप्त हुने राजनीतिक आधार नदेखेकाले मार्ग प्रसस्त गर्दै नयाँ सरकार गठनका लागि आह्वान गर्न अनुरोध गरेअनुसार बिहीबार बेलुका राष्ट्रपति भण्डारीले नयाँ प्रक्रियाको कदम चाल्नुभएको हो ।

संविधानको धारा ७६ उपधारा ५ अनुसार प्रधानमन्त्री पदमा दाबी गर्नका लागि प्रतिनिधिसभा सदस्यलाई जेठ ७ गते साँझ ५ बजेसम्मको समय दिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

“नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि मिति २०७८ जेठ ७ गते साँझ ५:०० बजे सम्म प्रतिनिधि सभामा विश्‍वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिमको प्रतिनिधि सभाका सदस्यलाई आह्वान गर्नुभएको छ ।”,राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले एक विज्ञप्ति जारी गर्दै स्पष्ट पार्नुभएको छ ।

हेर्नुहोस् विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस !