नगरको महत्वपूर्ण कदम ! 

  • नमोबुद्ध संवाददाता,

काभ्रे-बनेपा नगरपालिकाले नीजि क्षेत्रसँग सहकार्य गरी आईतबारदेखि जिल्लामै पहिलो आईसियु र भेन्टिलेटर सहितको ‘भोमी कोभिड डेडीकेटेड’ अस्पताल संचालनमा ल्याएको छ ।

नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादेले अस्पतालको शुभारम्भ गर्दै कोभिड १९ को संक्रमण नियन्त्रणका लागि यो महत्वपूर्ण कदम रहेको बताउनुभयो । कोरोना नियन्त्रण भन्दा बाहिर गएपछि नगरपालिकाले आईसोलेसनको अलावा कोभिड डेडीकेटेड अस्पताल संचालनका लागि केहीदिन अघि स्थानीय भोमि अस्पतालसँग भएको सम्झौता कार्यान्वयन गरेको उहाँको भनाई छ ।

बादेले नगरवासिहरुको स्वास्थ्य पहिलो प्राथमिकतामा राख्दै नगरपालिकाले आईसोलेसनसँगै गुणस्तरीय सेवा दिनेगरी अस्पताल शुरु गरेको स्पष्ट पार्नुभयो ।

नागरिकहरुको उपचारका लागि स्थानीय तहबाट भएको प्रयासले नागरिकहरुमा जीउने आशा जगाउने उल्लेख गर्दै नगर प्रमुख बादेले कोरोनासँग जुध्न सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।

प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेतिले नागरिकहरुका लागि कोभिड अस्पतालले राहत मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

सम्झौता अनुसार नगरपालिकाले मासिक कर बाहेक १३ लाख रुपैयाँ अस्पताललाई कोभिडका विरामीहरुको उपचार गराए बापत उपलब्ध गराउनुका साथै अक्सिजन रिफिल गर्ने कार्यमा समन्वय र सहजिकरण गरिने उप्रेतीले जानकारी दिनुभयो ।

कसरी सञ्चालन हुन्छ यो अस्पताल ?

नगरपालिकाका स्थानीयहरुका लागि छुट्टयाईएको बेडको संख्या अनुसार नगरपालिकाले सिफारिस गरी विरामीहरु अस्पतालमा पठाउनेछ ।

बनेपा नगरपालिकाको अनुमतिमा १५ शैया र स्वास्थ्य कार्यालय काभ्रेको समन्वयमा थप १० बेड गरी २५ शैया संचालन गर्ने अस्पतालका प्रवन्ध निर्देशक सगुना कायश्थले बताउनुभयो । उहाँका अनुसार कोभिड नियन्त्रणमा नगरपालिकासँग सहकार्य गरिएको हो ।

भोमि अस्पताल संचालनका लागि १० करोड लगानी भईसकेको उहाँले जानकारी दिनुभयो । तर कोभिड अवधीका लागि सम्झौता गरेको अस्पतालमा अन्य खालको उपचार हुने छैन । नेपाल सरकार स्वास्थ्य मन्त्रालयले तोकेको अधिनमा रही शुल्क लिने र तोकिएको गुणस्तरको सेवा अस्पतालले उपलब्ध गराउनुपर्ने सम्झौता छ ।

अस्पतालले ४ बेड आईसियु, ६ वटा अक्सिजन सपोटेड बेड नगरपालिकाको सिफारिसमा उपलब्ध गराउनेछ भने विरामीलाई आवश्यक परेमा भेन्टिलेटरमा उपचार गर्ने ब्यवस्था मिलाउनेछ । जनशक्ति उपकरण र प्रयोगशाला अस्पतालले ब्यवस्था मिलाउनेछ ।

बनेपा नगरपालिकाको स्थानीय तहमा संस्था दर्ता अनुमति तथा नविकरण सम्वन्धी निर्देशिका २०७८ बमोजिमका सबै मापदण्ड अस्पतालल पुरा गर्नुपर्ने, नगरपालिकाबाट सिफारिस गरिएका विरामीहरुको उचित रुपमा स्याहार तथा रेखदेख गर्ने, औषधी, प्रयोगशालामा हुने परीक्षण शुल्क विरामीले ब्यहोर्ने लगायतका शर्तहरुमा सम्झौता भएको छ ।

नगरपालिकाले विरामीको प्रकृति हेरेर आईसोलेसन वार्ड, अस्पतालमा रिफर गर्नेछ ।

प्रतिक्रिया दिनुहोस !