नियम पालना नगरे कार्वाही !

  • नमोबुद्ध संवाददाता,

तेमाल-काभ्रेको तेमाल गाउँपालिकामा स्थानीय बस्तीस्तरमा कोरोना भाइरस कोभिड-१९ संक्रमण फैलिन थालेपछि वडा नं १ को कार्यालयले जनचेतना अभिवृद्धिका लागि सूचना जारी गर्दै स्थानीयलाई सचेत गराएको छ ।

पालिकाको वडा नं १ क्षेत्रमा थप संक्रमण फैलिन सक्ने भन्दै यहाँको वडा कार्यालयले सार्वजनिक सूचना नै जारी गरेको हो ।

गाउँमा सामान्य रुपमा देखिएको रुघाखोकी,ज्वरो,टाउको दुख्ने जस्ता लक्षण कोरोनाको भएको पुष्टि भएपछि त्यसलाई फैलन नदिन भिडभाड हुने खालका कुनै पनि गतिविधि नगर्न स्थानीयबासीलाई वडा कार्यालयले अनुरोध गरेको छ ।

वडाध्यक्ष मानबहादुर श्रेष्ठले शनिबार एक सूचना मार्फत यस्तो आह्वान गर्नुभएको हो । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड-१९ सँग जुध्न सबै जुट्नुपर्नेमा जोड दिदै उहाँले स्थानीय होटल,पसलहरुमा गरिने भिडभाड बन्द गर्नुपर्ने,स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने बताउनुभयो ।

हाललाई अति-आवश्यक बाहेकका सबै सेवा बन्द गरिएको जनाउँदै सूचनामा नेपाल सरकार,तेमाल गाउँपालिकाको २०७८ बैशाख ३१ को निर्णय तथा पालिकाको निर्देशन पालना नगरे कार्वाही गर्ने चेतावनी समेत दिइएको छ ।

वडाध्यक्ष श्रेष्ठले कोरोना संक्रमितलाई सामान्य अवस्थामा होम आइसोलेसनमा उपचारमा रहन आग्रह गर्दै गाह्रो भएको अवस्थामा पालिकासँग समन्वय गरी अक्सिजन सहितको आइसोलेसन उपचार गरिने जानकारी दिनुभयो । उहाँले उच्च मनोवलका साथ भाइरसको सामना आवश्यक रहेको पनि बताउनुभयो ।

हेर्नुहोस् सूचना :

प्रतिक्रिया दिनुहोस !