सबै मिलेर कोरोनासँग जुध्न पालिका अध्यक्षको आह्वान !

  • नमोबुद्ध संवाददाता,

तेमाल-काभ्रेको तेमाल गाउँपालिकामा शुक्रबार एकै दिन १७ जनामा कोराना पुष्टि देखिएपछि यहाँको स्थानीय सरकारले उच्च सतर्कता अपनाउन थालेको छ ।

गाउँपालिका अध्यक्ष सलाम सिं तामाङले वडा नं १ र २ को तल्लो भेग र वडा नं ६ मा अहिलेसम्मकै धेरै स्थानीयमा संक्रमण देखिएपछि पालिका उपचारको थप तयारी मनस्थितिमा पुगेको बताउनुभयो ।

उहाँले भन्नुभयो-“बुधबार ठुलोपर्सेल,सर्स्युंखर्क, चुखा, मलडाँडा, कल्लेरी पाखाका ६ महिला र ११ पुरुषको स्वाव संकलन गरेका थियौं,परीक्षणबाट ति सबैमा कोरोना पुष्टि भएको हो ।”

उहाँका अनुसार संक्रमित मध्ये गाउँपालिकाले पोखरी नारायणस्थानमा स्थापना गरेको आईसोलेसनमा ३ जना कोभिडका बिरामी भर्ना गरी उपचार थालिएको छ ।

अध्यक्ष तामाङले पालिका सरकार हरदम जनताको पक्षमा रहने भन्दै नआत्तिकन सबै मिलेर कोरोना महामारीसँग जुध्न आह्वान समेत गर्नुभएको छ ।

“हामीसँग अक्सीजनसहितको १० बेडको आइसोलेसन कक्ष छ,थप अक्सिजन पाउन मुस्किल छ, हामी प्रयत्नशील छौं,भोलि ५ वटा अक्सीजन सिलिन्डर ल्याउँदै छौं,हामी जनताको उपचार सेवामै केन्द्रीत हुदैछौं,हामी सबैको सहकार्य आवश्यक छ ।”

पालिकाका स्वास्थ्य शाखा प्रमुख शिवहरि पाठकका अनुसार अहिले संक्रमित भएका स्थानमा रेस्पोन्स टिम पठाएर संक्रमितको अवस्था बुझ्ने कार्य भईरहेको छ । टोलिले संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको स्वाव संकलन गर्ने उहाँले जानकारी दिनुभयो । गाउँपालिकामा अहिले २८ जना कोरोनाका सक्रिय संक्रमित छन् ।

अतिआवश्यकबाहेकका सबै सेवा बन्द

कोभिड–१९ सङ्क्रमण बढ्दै गएपछि तेमाल गाउँपालिकाले अति आवश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । सङ्क्रमण रोकथाम र नियन्त्रणको लागि यस्तो आवश्यक ठहरिएकाे प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइँकेलद्वारा शुक्रबार जारी सूचनामा उल्लेख छ ।

शुक्रवार बसेको गाउँपालिकाको निर्णयअनुसार अति आवश्यक सेवा बाहेक गाउँपालिका भित्रका सबै सेवा बन्द गरिएको हो ।

“विश्वव्यापी महामारीको रूपमा फैलिएको नयाँ भेरिएट सहितको कोरोना भाइरसको सङ्क्रमण यस तेमाल गाउँपालिका भित्र बढ्दै गएको हुनाले जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अवस्थालाई मध्यनजर गरी कोभिड–१९ को रोकथाम र नियन्त्रणको लागि मिति २०७८/०१/३१ को गाउँपालिकाको निर्णयअनुसार अर्को सूचना जारी नभएसम्मका लागि यस गाउँपालिका र अन्तर्गतका कार्यालयहरूबाट तपशिलमा उल्लेखित अति आवश्यक सेवा बाहेक अन्य सेवा प्रवाह नहुने भएकोले सम्बन्धित सरोकारवाला पक्षहरू सबैको जानकारीका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ ।”

तेमालमा के–के बन्द ? के–के खुल्ला ?

अत्यावश्यक सार्वजनिक सेवा स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत्, खानेपानी, औषधी तथा औषधीजन्य पसलहरू २४ घण्टा खुल्ने छ भने अति आवश्यक खाद्यान्न पसल हरेक दिन बिहान ६:०० बजे देखी बिहान ८:०० बजे सम्म मात्र खुल्ने प्रमुख प्रशासकीय अधिकृत कुइँकेलले जानकारी दिनुभएको छ ।

त्यसैगरी होटेल तथा रेस्टुरेन्ट, ब्युटी पार्लर, सैलुन, कपडा पसल, टेलरिङ, शैक्षिक संस्था, स्टेशनरी, भोज भतेर, विवाह, व्रतबन्ध, पास्नी, घेवा इत्यादि पूर्ण रूपमा बन्द हुनेछन् ।

 

प्रतिक्रिया दिनुहोस !