• नमोबुद्ध संवाददाता,

धुलिखेल-आफ्ना क्षेत्रमा कोरोना भाइरस कोभिड-१९ संक्रमण फैलिन थालेपछि काभ्रेको धुलिखेल नगरपालिकाले ५० बेड क्षमताको आईसोलेसन कक्ष सोमबारदेखि सञ्चालनमा ल्याएको छ ।

सदरमुकाम बजारस्थित सञ्जीवनी माध्यामिक विद्यालयमा आईसोलेसन कक्ष निर्माण गरिएको नगरप्रमुख अशोक ब्याञ्जु श्रेष्ठले जानकारी दिनुभयो । उहाँले तत्काललाई ५० बेडको मात्रै आईसोलेसन सञ्चालन गरिएको स्पष्ट पार्दै आवश्यकता अनुसार थप ५० बेड पछि थप्ने पनि बताउनुभयो ।

उहाँका अनुसार आईसोलेसन अक्सिजनसहितको हो जहाँ डाक्टर र नर्स सहितको चिकित्सक टोलीबाट स्वास्थ्य सुविधा उपलब्ध हुनेछ । साथै निशुल्क एम्बुलेन्स सेवा र २ हजार जनासम्मको पिसिआर परीक्षण सुविधा समेत रहने धुलिखेल नगरपालिकाले जनाएको छ ।

आईसोलेसन कक्षको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) काभ्रेको टोलीले सोमबार नै अनुगमन गरेको छ ।

प्रतिक्रिया दिनुहोस !