
- नमोबुद्ध संवाददाता,
तेमाल-काभ्रेको तेमालमा पर्यटन विकासको विषय बेलाबेलामा चर्चामा आउने गरेको छ । यहाँ घुम्न लायकका ठाउँहरु त छन् नै, तामाङ सभ्यताको आदिम थलो पनि हो तेमाल । यो पटक यहाँ नयाँ वर्षको उपलक्ष्यमा बुधबार फरक खालको वनभोज(पिकनिक) यात्रा सम्पन्न भएको छ ।
नयाँ उर्जा,उत्साह,उमङ्ग र स्वयं अनुशासनको लागि सदगुण पिकनिक यात्रा भन्ने मुल नाराका साथ सदगुण जागरण नेपालको सहकार्यमा सदगुण बाल समुह को आयोजनामा “सदगुण पिकनिक यात्रा” सम्पन्न भएको हो ।
वडा नं १ का वडाध्यक्ष मान बहादुर श्रेष्ठको प्रमुख आतिथ्यता,सदगुण जागरण नेपालको केन्द्रिय संयोजक सरगम तामाङको विशेष आतिथ्यतामा बुधबार भएको कार्यक्रम गाउँमा रहेका बालबालिकामा सकारात्मक कार्य प्रती नयाँ उर्जा उत्साह उमङ्ग र स्वयं अनुशासनको लागि अग्रसर होस् भन्ने हेतुले सन्चालन गरिएको हो ।
बिहान ६ बजे देखि तेमाल आधाबाटबाट पैदलयात्रा गर्दै सुरु भएको यात्रा गुरु पदमसम्भबले सिद्ध लाभ गरेको यारिनाक गुफासम्म तय गरिएको थियो । यात्रामा सदगुण जागरण नेपालको अभियान्ताहरुले बालबालिकाहरुलाई सिर्जनात्मक तरिकाले खेल खेलाउने, नचाउने गीत गाउने र नैतिक अनुशासनमै रहेर पनि खुशी हुन सकिन्छ भन्ने ब्यबहारिक उदाहरण समेत दिएका थिए।
यात्रापछि दिउँसो तेमाल १ कै आधाबाट मौलचौरमा औपचारिक कार्यक्रम समेत गरिएको थियो । शाकाहारी परिकार सहितको बनभोज(पिकनिक) गरेर औपचारिक कार्यक्रम सम्पन्न भएको हो ।
औपचारिक कार्यक्रम सदगुण बाल समुहको तर्फबाट साजन तामाङको स्वागत मन्तब्य र लाल सिङ तामाङको शुभकामना मन्तब्यबाट सुरु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी वडाध्यक्ष मानबहादुर श्रेष्ठले सिर्जनात्मक र ब्यबहारिक तरिकाले बालबिकाहरुमा नैतिक उर्जा प्रवाह र स्वयं अनुशासन स्थापित गर्न यस्तो नौलो कार्यक्रम तेमालमै पहिलो भएको ,यसको सुरुवात तेमाल १ बाटै सुरु हुनुमा आफू र वडाबासी एकदमै गौरवान्वित भएको बताउनुभयो ।
अहिले समाजमा सकारात्मकता हराउदै गएको, पुर्वजहरुले छोडेर गएका धर्म संस्कृती र नैतिक शिक्षा हराउदै गएकोमा अब नयाँ बालबालिकाहरु यसमा जागरुक हुन थालेकोमा आफू एकदमै खुशी भएको बताउँदै उहाँले आगामी दिनमा यस्ता कार्यक्रमका लागि नैतिक,आर्थिक,बौद्धिक र भौतिक सहयोग गर्न तयार रहेको प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
कार्यक्रमका विशेष अतिथी सदगुण जागरण नेपालका केन्द्रिय संयोजक सरगम तामाङले गाउँगाउँमा रहेका बालबालिकामा आफैभित्र लुकेर रहेको सकारात्मक उर्जालाई मलजल गर्न र सभ्य नागरिक बन्न प्रेरित गर्न र त्यसको सुरुवात सानै उमेरबाट हुनुपर्छ भन्ने उद्देश्यका साथ सदगुण जागरण नेपालले यस्ता कार्यक्रम सन्चालन गर्दै आएको स्पष्ट पार्नुभयो ।
साथै उहाँले नैतिक सचेतनाका कुरा,जाँड रक्सी खानुहुदैन,झैझगडा गर्नुहुदैन, मेलमिलाप गरेर बस्नुपर्छ भन्ने जस्ता आफैँलाई हित हुने कुरा अहिलेका समाजका ठुला मान्छेले समेत स्विकार्न अलिक गाह्रो भएकोले बालबालिका केन्द्रित कार्यक्रम गरिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो-” लौ हेर्नुस नयाँ बर्षका दिन हाम्रै गाउँका धेरै जना ब्यक्तिहरु रक्सी बियर मासु खाएर खुशी मनाईरहेका होलान् तर हामी बिल्कुल फरक तरिकाले विशेष शाकाहारी परिकार सहित बनभोज गरेर यस्तो अभियान चलाईराखेका छौ, यो नै हाम्रो सदगुण अभियान हो ।”
कार्यक्रमको अर्का विशेष आतिथि पन्चकन्या आविका प्रधानाध्यापक राम प्रसाद पाण्डेले आफुले पढाएका बालबालिकामा यस्ता नैतिक सचेतनाका कार्यक्रम ल्याएर अनुशासित बिद्यार्थी बनाउन इट्टा थप्ने काम सदगुण जागरण नेपालले गरेकोमा आफू एकदमै खुशी भएको बताउनुभयो ।
कार्यक्रम सदगुण जागरण नेपालको अभियन्ता वीर बल तामाङको सन्चालनमा सदगुण जागरण नेपालको अभियन्ताहरु सुन लामा, सागर मगर, धनदास लामा, सन्दिप लामा,मुन्जु तामाङ,सुनिता तामाङ,पासाङ तामाङ र सदगुण बालसमुहका ४० जना भन्दा बढी बालबालिकाहरुको सहभागितामा सम्पन्न भएको हो ।
आगामी दिनमा समुन्नत ढङ्गले सदगुण बाल समूहका बालबालिकाहरयलाई सहि दिशानिर्देश होस् भन्ने हेतुले वडाध्यक्ष मान बहादुर श्रेष्ठ प्रमुख सल्लाहकार रहने गरि पन्चकन्या आविका प्रअ रामप्रसाद पाण्डे,सदगुण जागरण नेपाल केन्द्रिय संयोजक सरगम तामाङ,पन्चकन्या आविका ब्यबस्थापन समिती अध्यक्ष कान्छामान तामाङ र स्थानिय समाजसेबी पूर्व वडाध्यक्ष कृष्णमान तामाङ सहितको ५ जनाको सल्लाहकार समिती समेत गठन गरेर कार्यक्रम समापन भएको थियो ।