
- नमोबुद्ध संवाददाता,
काठमाडौं-तामाङ डाजाङले आफ्नो २०४ औं ग्योइकाइ गेताङ(साहित्यिक कार्यक्रम)का बीच शनिबार तामाङ समुदायका प्रतिभाहरुलाई सम्मान गरेको छ ।
नेपाल टेलिभिजनका नवनियुक्त महाप्रबन्धक फूलमान वल र नेपाल पत्रकार महासंघको हालै सम्पन्न अधिवेशनबाट निर्वाचित जिल्ला, प्रतिष्ठान,केन्द्रीय सदस्य, प्रदेश र संघीय पार्षदहरु(जो काठमाडौंमा उपलब्ध भए)लाई सम्मान गरिएको हो ।
सम्मान समारोहका प्रमुख अतिथि जापानका लागि पूर्व नेपाली राजदूत डा. गणेश योञ्जनले तामाङ समुदायका प्रतिभाहरुलाई उत्साह दिने काम डाजाङले गरेको बताउनुभयो । यसमा नेपाल टेलिभिजनका नवनियुक्त महाप्रबन्धक फूलमान वल लगायतलाई सम्झेको उहाँको भनाई छ ।
उहाँले क्षमता र दक्षताकै कारण नेपाल टेलिभिजन संस्थानमा सरकारले विश्वास गरेको र राष्ट्रपतिज्युबाट प्रबल जनसेवाश्री पदकबाट सुशोभित हुन सफल भएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो-“फूलमान वल प्रतिभावान व्यक्तित्व हुनुहुन्छ, नयाँ सम्भावना बोकेर सफलताको यात्रामा अगाडि बढेकोमा बधाई र शुभकामना ।”
उहाँले नेपाल टेलिभिजन सरकारको मुख्य सञ्चार माध्यम रहेकोले यसमा समावेशी चरित्र निर्माण गर्नुपर्नेतर्फ वलको ध्यानाकर्षण गराउनुभयो ।
पूर्व राजदूत योञ्जनले आफ्नो मातृभाषाका साथै अन्य माध्यमबाट आफ्नो समुदायको सांस्कृतिक जागरणका काम गर्न सकिने बताउनुभयो । तामाङ समुदायका पत्रकारहरुलाई मुल छाता संगठन नेपाल पत्रकार महासंघमा निर्वाचितहरुबाट पनि यस्तो प्रेरणा मिल्ने उहाँको धारणा छ ।
भाषाविद् अमृत योञ्जन,नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ कलाकार निमा घ्याम्छो वल,वरिष्ठ संगीतकार प्रदिप बम्जन, वरिष्ठ तामाङ लोक गायक चन्द्रकुमार मोक्तान लगायतले सम्मानित व्यक्तित्वहरूलाई बधाई ज्ञापन गर्दै उहाँहरुबाट आफ्नो समुदायको विकासमा महत्वपूर्ण भुमिका रहने विश्वास व्यक्त गर्नुभयो ।
सम्मानित व्यक्तित्व नवनियुक्त महाप्रबन्धक वलले आफूलाई गरेको सम्मानले काम गर्ने उर्जा थपेको बताउनुभयो । उहाँले आफू नेपालका सबै जातजाति,समुदायको सम्मान मिल्नेगरी काम गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।
नेपाल टेलिभिजनलाई मुलुकको मजवुत सञ्चार माध्यमको रुपमा विकास गर्ने खालका नीति, कार्यक्रम निर्माणकै चरणमा रहेको वलले जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिमा निर्वाचित सदस्य सञ्चु ब्लोनले तामाङ पत्रकारहरु पत्रकार महासंघको नीति कार्यक्रमहरुबाट विमुख हुन नहुनेमा जोड दिनुभयो । महासंघमार्फत क्षमता विकास,विमा, पेशागत सुरक्षा लगायतका काम गर्न आफू कटिवद्ध रहने ब्लोनको प्रतिबद्धता थियो ।
तामाङ डाजाङका अध्यक्ष फूलकुमार बम्जनले तामाङ समुदायबाट उठेका कलमजीविहरुको राज्यका विभिन्न स्थानमा अर्थपूर्ण उपस्थिति बढ्दै गएकोमा खुसी व्यक्त गर्नुभयो । प्रतिभाहरुको कदर स्वरूप तामाङ समुदायमा सकारात्मक सन्देश प्रवाह गर्नेगरी यो कार्यक्रम गरिएको उहाँले स्पष्ट पार्नुभयो ।
वलका साथै पत्रकार महासंघ केन्द्रीय सदस्य ब्लोन, उपत्यका प्रदेश पार्षद तिर्थमान वल, अर्जुन बहादुर ग्लान, पत्रकार महासंघ कान्तिपुर पब्लिकेशन प्रतिष्ठानबाट प्रदेश पार्षद शुसिला तामाङ, सदस्य सिमा तामाङ, पत्रकार महासंघ काभ्रेका सहसचिव जगतमान वल तामाङ, महासंघ काठमाडौं जिल्ला सदस्य वुद्ध योञ्जन लगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा सजना गोले,रचना मोक्तान,राजु मोक्तान,सञ्जिव योञ्जन,कविराज तामाङ,कुमार सिं तामाङ, मिथिला स्याङतान,हिरामाया घिसिङ,डुप्साङ लामा,अटुट दोङ,सम्झना वाईवा,पोङदिला च्याङबा लामा,मिना खड्का लगायतका श्रष्टाहरुले आ-आफ्ना कविता,गीत,गजल सिर्जनाहरु सुनाएका थिए ।
कार्यक्रममा सामाजिक अभियन्ता, समाजसेवी,तामाङ कला,गीतसंगीत,साहित्य, नाट्य क्षेत्रमा क्रियाशील व्यक्तिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
कविराज तामाङको सञ्चालनमा भएको कार्यक्रममा व्यवसायी तथा समाजसेवी डिवि तामाङको तर्फबाट तामाङ कुदापको मौलिक खाजाको व्यवस्था समेत गरिएको थियो ।