• नमोबुद्ध संवाददाता

काभ्रे-यत्तिबेला केन्द्र, प्रदेश र जिल्ला जिल्लामा पत्रकारहरुलाई आफ्नै चुनाव लागेको छ । नेपाल पत्रकार महासंघको निर्वाचनका लागि जिल्लामा प्रेस युनियन र प्रेस सेन्टरको गठबन्धनसँग प्रेस चौतारीको टक्कर हुनेभएको हो ।

महासंघको चैत २५ गते हुने निर्वाचनका लागि आइतबार उम्मेदवार दर्ताकै दिन काभ्रेमा ६ पत्रकार निर्विरोध निर्वाचित भएका छन् । त्यसमा ५ महिला र १ पुरुष छन् । उनिहरु निर्विरोध निर्वाचित भएपनि निर्वाचन समितिले आधिकारिक घोषणा गर्न भने बाँकी रहेको छ ।

नेपाल पत्रकार महासंघको निर्वाचनमा काभ्रेबाट राष्ट्रिय परिषद सदस्यमा प्रेस चौतारीबाट उम्मेदवारी दिएका सरिता सापकोटा निर्विरोध भएकी छन् ।

त्यस्तै प्रदेश परिषद सदस्यमा चौतारीकै सुर्यमायाॅं दनुवारका साथै प्रेस युनियन नेतृत्वको गठबन्धनबाट उम्मेदवारी दिएका कविता शर्मा र राज्यलक्ष्मी श्रेष्ठ पनि निर्विरोध भईन् । पत्रकार महासंघ काभ्रे शाखाको कार्यसमिति सदस्यमा उम्मेदवार बनेकी सम्झना गौतम र अपाङ्गता सदस्यमा युनियनबाट रामचन्द्र अधिकारी निर्विरोध निर्वाचित भएका हुन् ।

जिल्लामा प्रेस चौतारीले नवराज बजगाईं नेतृत्वको टिम मैदानमा उतारेको छ भने युनियन र प्रेस सेन्टर गठबन्धनले बद्री तिमल्सिना नेतृत्वको पत्रकार टोलि अधिवेशनमा पठाएको छ ।

केहि पत्रकारले बागी उम्मेदवारी दिएका छन् । युनियनका शंकर अधिकारीले सचिव र शेखर चिमौरियाले सहसचिवमा बागी उम्मेदवारी दिएका हुन् । ६ निर्विरोध भएपछि अब  बागीसहित ४७ जना पत्रकार विभिन्न पदहरुमा चुनावी मैदानमा छन् ।

जिल्लामा रहेका १२५ सदस्य प्रतिनिधिमा गठबन्धनको बहुमत देखिएपनि चौतारी उच्च मनोवलका साथ मैदानमा उत्रेको छ ।

चौतारीले जिल्लाबाट केन्द्रीय सदस्यको उम्मेदवार रमा दाहाल भण्डारीलाई बनाएको छ भने युनियनले केन्द्रीय लेखा समिति सदस्यका लागि नारायणा सापकोटालाई पठाएको छ । बागमती प्रदेश सदस्यमा चौतारीबाट सविता न्यौपाने,युनियन र सेन्टर गठबन्धनले सम्झना हुमागाईं र पेमा लामालाई उठाएको छ ।

नतिजा आ-आफ्नो पक्षमा हुने दावीसाथ यि दुई समुह चुनावी मुद्दा तथा आवश्यक रणनीति बनाउन व्यस्त हुन थालेका छन्  ।

हेर्नुहोस् नामावली सहित :

 

प्रतिक्रिया दिनुहोस !