यस्तो  बेलामा घर बाहिर ननिस्कने र धुवाँधुलो हुने गतिविधि नगर्नु नै उपयुक्त

काठमाडौं- पछिल्लो साता काठमाडौं, बनेपा, धुलिखेल, पाँचखाल, भकुण्डे जस्ता शहर र आसपास क्षेत्रका आकाश तुवाँलाले ढाकेको देखिन्छ । घाम मधुरो लाग्छ तर हावा चल्दैन । तुवाँलो लागेजस्तो देखिने मौसममा घरबाहिर निस्क्दा आँखा पिरो हुन्छ।

जल तथा मौसमविद ङमिन्द्र दाहालका अनुसार लामो समयको खडेरीले हावा सुख्खा भएको र वायुले धुवाँ र धुलो ल्याएका कारण खासगरी शहरी क्षेत्रको वायु प्रदूषित भएको हो । पानी पर्नका लागि न्युन चाप भएको क्षेत्रमा हावाले बादल लिएर आउनुपर्थ्यो, त्यसको साटो वायुले धुलो र धुवाँ लिएर आएको उनले बताए ।

‘अत्तरियादेखिको हावा काठमाडौं आइपुगेको छ, भारतको उत्तदरप्रदेश, विहार हरियाणासम्म वायुमण्डल धुलोले ढाकेको छ’ उनले भने ।

हिजोआज ४०० भन्दा बढी वन डढेलोको घटना भएको र त्यहाँबाट उडाएको धुवाँले गर्दा वायु प्रदूषण भएको दाहालले बताए ।वातावरण विभागका उपमहानिर्देशक तथा प्रवक्ता इन्दुबिक्रम जोशीले पनि डढेलो र अरु प्रदूषणका कारण वायुको गुणस्तर बिग्रिएको बताए । ‘डढलो लागेर हो कि भन्ने अनुमान छ’ उनले भने, ‘अहिले हावा पनि चलेको छैन, हावा चलेमा प्रदूषण कम हुनसक्छ ।’

भैंसेपाटी क्षेत्रमा वायुको गुणस्तर ४७० एक्युआई (एयर क्वालिटी इन्डेक्स) देखिएको छ । भक्तपुरको ३०५, कीर्तिपुरको २२१ रहेको छ ।

यस्तो  बेलामा घर बाहिर ननिस्कने र धुवाँधुलो हुने गतिविधि नगर्नु नै उपयुक्त विकल्प भएको विभागका उपमहानिर्देशक जोशी बताउँछन् । ‘यसलाई मौसमले मात्र बचाउन सक्छ, हामी सबैले मिलेर सामना गर्यौं भने यसबाट बच्न सक्छौं’ उनले भने ।

मौसम पूर्वानुमान महाशाखाले पनि वरपरको क्षेत्रमा डढेलो लागेका कारण मौसम विग्रिएको अनुमान गरेको छ । ‘धुलोका कणहरु त केही दिनदेखि वायुमण्डलमा थिए, अहिले डढेलोका कारण भिजिविलिटी कम भएको अनुमान गरेका छौं,’ मौसमविद राजु प्रधानांगले भने ‘यसबारे हमी कन्फर्म हुन सकेका छैनौं ।

Onlinekhabar.com

प्रतिक्रिया दिनुहोस !