
“हाम्रा चलचित्र मनोरञ्जनको माध्यम मात्रै बन्नु हुदैन यसले समाजमा दिने सन्देश के हो भन्नेमा पनि ध्यान दिन आवश्यक छ ।”
- जगत तामाङ,
काभ्रे–नेपालका आदिवासी समुदायका चलचित्रकर्मीहरुको सहभागितामा धुलिखेल काभ्रेभञ्ज्याङ्गमा ‘आदिवासी चलचित्रमा प्रतिवद्धता सहितको सहकार्य’ विषयक पाँच दिवसीय कार्यशाला गोष्ठी सुरु भएको छ । आदिवासी जनजाति चलचित्र महासंघले आयोजना गरेको गोष्ठीको बुधबार औपचारिक रुपमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले उद्घाटन गर्नुभयो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै गुरुङले समृद्ध नेपाल निर्माणमा कलाकर्मीहरुको महत्वपूर्ण भुमिका हुने बताउनुभयो । उहाँले भन्नुभयो–“मुलुक समृद्धिको आधार तयार भईरहेको छ, यो अवस्थामा आदिवासीहरुको हिजोको जीवन र आजको जीवनमा के फेरबदल आयो ? उनिहरुको सामाजिक परिवर्तन,आर्थिक परिवर्तन,सांस्कृतिक परिवर्तनका पाटो बहस र छलफलमा ल्याउने,सकारात्मक सन्देश प्रवाह गर्ने काम तपाईं कलाकर्मीहरुले गर्दै आउनुभएको छ ।”
चलचित्र मनोरञ्नमा मात्रै केन्द्रित नभई सामाजिक उत्तरदायित्वबाट विमुख हुन नहुने उहाँको सुझाव छ । उहाँले थप्नुभयो–“हाम्रा चलचित्र मनोरञ्जनको माध्यम मात्रै बन्नु हुदैन यसले समाजमा दिने सन्देश के हो भन्नेमा पनि ध्यान दिन आवश्यक छ ।”
आदिवासी चलचित्रकर्मीहरुको कामप्रति आफू सदैव सकारात्मक रहेको उल्लेख गर्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले सबै जातजातीको उन्नयन हुने खालको चलचित्र नीति,कार्यक्रम र बजेट तर्जुमा गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
गोष्ठीले आदिवासी समुदायमा सकारात्मक सन्देश लैजाने विश्वास व्यक्त गर्दै उहाँले गोष्ठीको निश्कर्षबारे आफू छिट्टै छलफलमा बस्न तयार रहेको बताउनुभयो ।
नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान वलले आदिवासी जीवन र संस्कृतिको उठान आदीवासी चलचित्रको महत्वपूर्ण पाटो बन्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो–“अचेल आदिवासी चलचित्र राम्रो बनाउने नाउँमा मुस्ताङ लगायत विभिन्न ठाउँका दृश्यहरु कैद गरिरहेका हुन्छौं,मनोरञ्जन र पर्यटन प्रवद्र्धनको पाटोमा त्यो उचित होला तर हामीले त हाम्रा समाजका कथा बोल्नुपर्ने हो जस्तो मलाई लाग्छ ।”
चलचित्रले सांस्कृतिक राष्ट्रियता निर्माणको महत्वपूर्ण काम गर्ने तर्क गर्दै उहाँले यसबाट समाजिक एकता र समृद्धि हाँसीलमा सघाउ पुग्ने बताउनुभयो ।
गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष जीतराम लामाले आदिवासी चलचित्रकर्मीहरुको उदेश्य पनि सामाजिक विकास तथा परिवर्तन नै रहेकोले गैरसरकारी संस्थाहरु सहकार्यमा अघि बढ्न तयार रहेको बताउनुभयो ।
बरिष्ठ चलचित्रकर्मी नविन सुब्बाले आदिवासी समुदाय र उनिहरुको जीवन उठाउने अभियानमा लागेका चलचिकर्मीहरुको हितका लागि राज्यले नीतिगत रुपमै पुर्नविचार गर्नुपर्ने औंल्याउनुभयो ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले आदिवासी चलचित्रकर्मीहरुलाई पाखा लगाएर चलचित्र विकास बोर्ड अघि नबढ्ने बताउनुभयो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का संघीय अध्यक्ष डण्ड गुरुङले चलचित्र सञ्चारको सशक्त माध्यम रहेकोले समाज निर्माणमा यसको भुमिका महत्वपुर्ण रहने विचार व्यक्त गर्नुभयो ।
आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत बहादुर सुनुवारले सरकारले आदिवासी संस्कृति संरक्षणको अभियानमा क्रियाशिल आदिवासी चलचित्रकर्मीहरुको भावना बुझ्ने विश्वास व्यक्त गर्नुभयो । कर उठाएर विदेशी चलचित्र मुलुकमा भित्र्याउनुभन्दा स्वदेशी चलचित्रको प्रवद्र्धनमा सरकारको ध्यान जानुपर्ने उहाँको धारणा छ ।
महासंघका उपाध्यक्ष विकु थोकरका अनुसार गोष्ठीले आदिवासी चलचित्रको हिजो,आज र भोलीको भविष्यबारे गहन छलफल,विचार विमर्श गरी महत्वपूर्ण निचोड निकाल्ने र राज्यको समेत ध्यानाकर्षण गराउने काम गरिनेछ ।
शनिबारसम्म चल्ने गोष्ठीमा १५ आदिवासी भाषाभाषीका चलचित्रकर्मीहरुको सहभागिता रहेको उपाध्यक्ष थोकरले जानकारी दिनुभयो ।
गोष्ठीको के कस्तो हुदैछ ? तालिकासहित हेर्नुहोस् ।