- नमोबुद्ध संवाददाता,
काठमाडौं–साहित्यकार विन्दु अधिकारी ढकालको कथासङ्ग्रह मावली दिदी सार्वजनिक भएको छ । ढकालको हालै दोस्रो कृतिको रूपमा पहिलो कथासङ्ग्रह मावली दिदीको प्रज्ञा भवन, कमलादीमा एक कार्यक्रम गरी नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, प्राज्ञ प्रा.डा. हेमनाथ पौडेल, प्राज्ञ माया ठकुरी, कथाकार ढकालकी आमा लक्ष्मी अधिकारी, पति नेपाल प्रहरीका एसएसपी भीमप्रसाद ढकाल, पुत्र विप्लव ढकाल ‘विपु’लगायतबाट लोकार्पण गराउनुभएको हो ।
कुलपति उप्रेतीले कथाकार ढकाल ऊर्जाशील र सिद्धहस्त साहित्यकार भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो– “मावली दिदीभित्र समाविष्ट विन्दुजीका कथाहरूमा समाजका विविध पक्ष मिहीन ढङ्गबाट प्रतिबिम्वित भएका छन् । एउटा पठनीय कृतिका रूपमा मावली दिदी आएको छ ।”
प्रज्ञा–प्रतिष्ठानको आख्यान विभाग प्रमुखसमेत रहनुभएकी वरिष्ठ कथाकार प्राज्ञ ठकुरीले मावली दिदी हाम्रै गाउँसमाजकी एउटी प्रतिनिधिमूलक पात्र भएको बताउँदै कथासङ्ग्रहभित्रका सबै कथाहरूले पाठकलाई तान्ने दाबी गर्नुभयो ।
लोकार्पित कृतिमाथि समीक्षात्मक मन्तव्य राख्दै समालोचक डा. यज्ञश्वर निरौलाले सङ्ग्रहभित्रका सबै कथाहरू पठनीय रहेको उल्लेख गर्नुभयो । उहाँले कथाकार ढकालले नयाँ शैलीबाट कथा वाचन गर्नुभएको बताउनुभयो ।
धनकुटाको चुङमाङमा जन्मिनुभएकी कथाकार विन्दु अधिकारी ढकालको यसअघि ‘विन्दुहरू’ नामक कविताकृति प्रकाशित छ । मावली दिदी ब्रदर बुक्स पब्लिकेशनले प्रकाशन गरेको हो । सङ्ग्रहभित्र १५ ओटा कथा समाविष्ट छन् ।