
डा. पोखरेलका अनुसार सिरमबाट नेपालले अझै १० लाख डोज खोप प्राप्त गर्नै बाँकी छ जुन केही दिनमै नेपाल आउने जानकारी मन्त्रालयलाई आएको छ । तर, नेपालले खरिद गर्न प्रस्ताव गरेको थप ५० लाख डोजको विषयमा भने छलफल भइरहेको छ । ‘फेरि पनि सिरमबाट खोप प्राप्त हुने सुनिश्चितता भयो भने दोस्रो डोजका लागि भण्डारण गरेर राखिएको खोप पुनः लगाउन सुरु गर्न सकिन्छ । नभए दोस्रो चरणको खोप कार्यक्रम केही सयम रोकिन्छ ।’ उनका अनुसार खोप लगाउँदा खेर जाने प्रतिशत निकै नै कम भएका कारणले सिरमबाट १० लाख डोज खोप प्राप्त भए पहिलो र दोस्रो चरणमा मंगलबारसम्म खोप लगाएकाहरुलाई दोस्रो डोज लगाउन सजिलै पुग्ने आंकलन मन्त्रालयको छ ।
विश्व बजारमा नै खोपको माग अत्याधिक भएका कारण सिरमले नेपाललाई खोप उपलब्ध गराउने सक्ने यकिन मिति र संख्या निर्क्योल गर्न नसकेको डा. पोखरेलले बताए । उनका अनुसार नेपालले हालसम्म ३ लाख बढी डोज खोप प्राप्त गरिसकेकाले कोभ्याक्स अन्तर्गत प्राप्त हुने खोपका लागि पनि केही सयम लाग्ने देखिएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार पहिलो डोज लगाएका कुनै पनि व्यक्ति दोस्रो खोप लिनबाट वञ्चित हुने छैनन् । ‘पहिलो डोज लगाएका व्यक्तिलाई दोस्रो डोज दिनकै लागि मन्त्रालयले दोस्रो चरणको खोप कार्यक्रम रोकेको हो,’ उनले भने, ‘हामी फेरि छिट्टै ५५ वर्षमाथिका व्यक्तिहरुलाई खोप लगाउनका लागि सूचना जारी गर्छौं ।’
नेपालमा औषधि तथा खोपहरुको नियामक निकाय औषधि व्यवस्था विभागले हालसम्म भारतको सिरम इन्स्टिच्युट अफ इण्डियाले उत्पादन गरेको ‘कोभिशिल्ड’ खोपलाई मात्र आपतकालीन प्रयोग अनुमति दिएको छ । यस्तै चिनियाँ सरकारी कम्पनी सिनोफार्मअन्तर्गत बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टस कम्पनी लिमिटेड (बीआईबीपी)ले उत्पादन गरेको ‘भेरो सेल’ खोपलाई पनि आपतकालीन प्रयोग अनुमति दिएको छ ।
चीनले नेपाललाई ८ लाख खोप दिने प्रतिबद्धता जाहेर गरेकै आपत्कालिन प्रयोग अनुमति दिइए पनि हालसम्म उक्त खोप नेपाललाई प्राप्त भने भएको छैन । यस्तै कोभ्याक्स सुविधा अन्तर्गत पनि नेपालले सिरमले नै उत्पादन गरेको कोभिशिल्ड खोप ३ लाख ४८ हजार डोज मात्रै प्राप्त गरेको छ ।
नेपालले हालसम्म पहिलो चरण ४ लाख ३८ हजार ८ सय ७९ र दोस्रो चरणमा १२ लाख १५ हजार ४ सय ७७ गरेर करिब १६ लाख ५४ हजार ३ सय ५६ व्यक्तिलाई खोप दिएको छ भने कुल २३ लाख ४८ हजार डोज खोप प्राप्त गरेको छ । नेपालले प्राप्त गरेका सबै खोप सिरमको कोभिशिल्ड नै हो । जसमा १० लाख डोज खोप भारतले ‘खोपमैत्री’ अभियान अन्तरगत उपहार स्वरुप दिएको थियो । त्यसपछि नेपालले २० लाख डोज खोप सिरमसँग ४ अमेरिकी डलरमा खरिद गरेको हो । खरिद गरेको खोपमध्ये १० लाख डोज नेपाललाई फागुन ९ गते नै प्राप्त भइसक्यो भने बाँकी १० लाख डोज छिट्टै प्राप्त हुने बताइएको छ । यस्तै अर्को ३ लाख ४८ हजार डोज भने कोभ्याक्स सुविधा अन्तर्गत प्राप्त भएको हो ।
ekantipur.com
https://ekantipur.com/news/2021/03/17/161597485548476793.html