
- नमोबुद्ध संवाददाता,
चौंरीदेउराली–काभ्रेको चौंरीदेउराली गाउँपालिकामा ‘अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता–२०७७’ को तयारी थालिएको छ । प्रतियोगिता आगामी फागुन २८ गतेदेखि चैत्र १ गतेसम्म हुने तय भएको गाउँपालिका प्रवक्ता एवं वडा नं. ३ का वडा अध्यक्ष विनोद घिसिङले जानकारी दिनुभयो ।
पालिकाको नीति तथा कार्यक्रम अनुसार खेलकुदको माध्यमबाट युवा जगतमा अनुशासन एवं आचरणमा सुधार ल्याई शारीरिक, मानसिक एवम् बौद्धिक विकास गर्ने उद्देश्यले हरेक वर्ष सञ्चालन गर्दै आएको प्रतियोगिता यो पाली पनि गर्ने तयारी थालिएको प्रवक्ता घिसिङले बताउनुभयो ।
उहाँका अनुसार प्रतियोगितामा प्रत्येक वडाहरुबाट सहभागी गराउने तयारी छ । ‘गाउँपालिकामा रहेको ९ वटै वडाका टिम उत्साहपूर्वक सहभागी हुनेछन् । हामीले यो पटकको प्रतियोगितालाई थप व्यवस्थित गर्न लागेका छौं ।’ उहाँले भन्नुभयो,‘गाउँपालिकाले खेलकुदलाई युवाहरुको अनुशासन, बौद्धिक विकास, सुमुधुर सम्बन्ध र सदभावको विकास गर्न विशेष जोड दिएका छौं ।’
यस पटकको फुटबल प्रतियोगिता वडा नं. ३ को माझीफेदा खेलमैदानमा हुने उहाँले बताउनुभयो । प्रतियोगितामा प्रत्येक वडाबाट खेलाडी संख्या अतिरिक्त र अफिसियल सहित १३ जनाको टोली सहभागी हुने प्रमुख प्रशासकीय अधिकृत महानदास लामाले जानकारी दिनुभयो । प्रतियोगिता एन्फाको प्रतिनिधिको विशेष उपस्थितिमा र जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा हुन लागेको हो ।
आकर्षक पुरस्कार !
प्रमुख प्रशासकीय अधिकृत लामाका अनुसार यो पटक प्रतियोगितामा पहिलो हुनेले १ लाख रुपैयाँ पुरस्कार पाउने छ । त्यसैगरी प्रतियोगितामा दोस्रो हुनेले ५० हजार रुपैयाँ र तेस्रो हुनेले २५ हजार ,पपुरस्कार पाउनेछन् ।
स्थानीय क्षेत्रमा हुने प्रतियोगितामा यत्ति नगद पुरस्कारलाई आकर्षक पुरस्कार मानिन्छ । यसका साथै सिल्ड,मेडल तथा प्रमाणपत्र पनि रहने आयोजकले जनाएको छ ।