- नमोबुद्ध संवाददाता,
भकुण्डेबेशी–काभ्रेको नमोबुद्ध नगरपालिकाका किसानहरुले अब मोबाइल एपमार्फत नै कृषि उत्पादनसम्वन्धी जानकारीका साथै बजारबारे जानकारी पनि पाउने भएका छन् । अब किसानले यो प्रविधिको प्रयोग गर्दै कृषि व्यवसायलाई थप व्यवस्थित र उत्पादनमुलक बनाउन सक्ने भएका हुन् । यो एप कृषि उत्पादन र कृषि उपजको बजारीकरणका लागि महत्वपूर्ण सहयोगी बन्ने देखिन्छ ।
आइतबार भकुण्डेबेशीमा आयोजित कार्यक्रममा सिप्रेड, इसिमोड र पाथवेको टोलीले नगर प्रमुख टिपी शर्मा तिमल्सिनालाई यो सेवा प्रविधि हस्तान्तरण गरेको छ । त्यसलगत्तै नगर प्रमुख तिमल्सिनाले ११ वटै वडाका लागि सेवा हस्तान्तरण गर्नुभयो ।
यो सेवा सुरु भएसँगै अब नमोबुद्धका किसानले आफूले कुन समयमा कुन बाली लगाउने भन्नेबारे मोबाइल एपमार्फत नै जानकारी पाउनेछन् भने दैनिकरुपमा बजारभाउको जानकारी पनि पाउनेछन् । यस्तै बाली लगाउने क्रममा कुनै समस्या आए त्यसको समाधान गर्नका साथै रोग किरा देखापरेमा त्यसलाई नियन्त्रण गर्ने उपायसमेत मोबाइलमार्फत नै जानकारी पाउनेछन् । किसानलाई मोबाइल एपमै विज्ञहरुको सेवा उपलव्ध गराइनेछ ।
एपमा किसानदेखि प्राविधिक र बजारसम्म समटिएको जिओ कृषि इन्क्युवेसन सेन्टरका कार्यक्रम निर्देशक रादिप तण्डुकारले जानकारी दिनुभयो । उहाँका अनुसार किसानले कहाँ, कसरी के रोप्ने र कसरी बिक्री गर्ने भन्नेबारे सबै जानकारी एपमार्फत नै पाउनेछन् ।
‘बाली रोपाईदेखि कटाईसम्मका हरेक पक्षलाई एपमा समेटिएको छ’ तण्डुकारले भन्नुभयो, ‘यसले किसानलाई कुन समयमा के बाली लगाउने र बजारको खोजी कसरी गर्ने भन्ने समस्याबाट मुक्त गराउन मद्दत पुग्नेछ ।’
इसिमोडकी इकोसिष्टम एनालिष्ट इरिका उदासका अनुसार किसानले यो एप प्रयोग गर्दा धेरै खर्च बेहोर्नु पर्दैन । बर्षमा एक सय रुपैयाँ जति खर्च गर्दा बर्षभरि एप चलाउन सकिनेछ । किसानलाई सहज, सुलभ होस् भन्ने उद्देश्यले एपलाई ‘अफलाइन’ मै चल्नसक्ने व्यवस्था गरिएको छ ।
सूचनामा किसानको पहुँच आवश्यक रहेको कुरालाई मध्यजनर गर्दै आफूहरुले जिओ कृषिको अवधारणा ल्याएको उदासले बताउनुभयो । उहाँका अनुसार सिप्रेड,इसिमोड र पाथवेसँगको सहकार्यमा नमोबुद्ध नगरपालिकामा पहिलोपटक यो सेवा सुरु गरेको हो । यसबाट राम्रो मुल्यमा किसानले आफ्ना उत्पादन बिक्री वितरण गर्न सक्ने अपेक्षा गरिएको उदासको भनाई छ ।
नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाले आफूहरु निर्वाचित भएपछि डिजिटल नमोबुद्धको अवधारणा अघि सारिएको र अब कृषिमा समेत प्रविधिको प्रयोगले त्यसमा थप मद्दत पुगेको बताउनुभयो । यसअघि नै शिक्षा क्षेत्रमा यु लर्निङ, टकिङ टिचर लगायतका कार्यक्रममार्फत डिजिटल नमोबुद्धको अवधारणालाई अघि बढाइएको तिमल्सिनाले बताउनुभयो । कृषि र वातावरणमैत्री नगर बनाउने आफूहरुको अभियान रहेको र वातावरणमैत्री नगरको योजनालाई विभिन्न कार्यक्रममार्फत मुर्तरुप दिइएको तिमल्सिनाले बताउनुभयो । उहाँले जिओ कृषि एपमार्फत किसानहरुले बढी भन्दा बढी फाइदा लिनसक्ने र नगरपालिकाले यसको सञ्चालन र व्यवस्थापनमा विशेष ध्यान दिने उल्लेख गर्नुभयो ।
यो एप परिक्षणकै क्रममा नमोबुद्ध नगरपालिकाका ३ सय ६५ जना किसान आवद्ध भइसकेका छन् । एपमा नमोबुद्ध नगरपालिका भित्र लगाइने २० वटा बालीलाई प्राथमिकताका साथ राखिएको छ भने अन्य बालीहरुलाई पनि समेट्दै लगिने बताइएको छ ।
परिक्षणकै क्रममा यो एप प्रयोग गरिरहेका अगुवा किसान भरत न्यौपानेले आफूहरुका लागि एप निकै उपयोगी र आवश्यक रहेको बताउनुभयो । उहाँले एपमार्फत नै आफूहरुलाई कृषि उत्पादनका लागि आवश्यक जानकारी पाउनुका साथै उत्पादित कृषि उपजको बजारको खोजी गर्न सहज भएको प्रतिक्रिया दिनुभयो ।