नेता, कार्यकर्तालाई आ–आफ्नो जिम्मेवारीमा फर्कन दाहाल–नेपाल समूहको आव्हान
- नमोबुद्ध संवाददाता,
काठमाडौं–नेकपा दाहाल–नेपाल समूहका नेता नारायणकाजी श्रेष्ठले आफूहरु पार्टी एकताकै पक्षमा रहेको बताउनुभएको छ । तर प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मालोचनासहित रुपान्तरण नभएसम्म ओली समूहसँग एकता हुने सम्भावना नरहेको उहाँको भनाई छ ।
“हामी संधै पार्टी एकताको पक्षमा छौं । पार्टी एकता पनि जोगाउने, संविधान र लोकतन्त्रको पक्षमा र जनमुखी विकासको पक्षमा पनि जान पर्यो भनेर बहस गर्दाखेरी ओलीजी संविधान र लोकतन्त्रको पनि हत्या गर्न उद्धत हुनुभयो र पार्टीलाई पनि फुटाउने, चोइट्याउने, गुटवादी प्रयत्न अगाडि बढाउनुभयो । हामीले त्यसको विरोध गरेका हौं र अहिले पनि एकताको पक्षमा छौं ।”
, बुधबारको पार्टी बैठकपछि प्रवक्ता श्रेष्ठले भन्नुभयो–“पार्टी एकतालाई प्रहार गर्ने, चोइट्याउने, गुट र फुटमा रमाउने र त्यसक्रममा संविधान र लोकतन्त्रमाथि पनि आक्रमण गर्ने ओली प्रवृत्तिले आफूलाई आत्मालोचक ढंगले र नयाँ रुपमा प्रस्तुत नगरेसम्म त्यो एजेन्डाले तत्काल साकार रुप भने पाउन मुस्कील छ ।”
प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा तत्काल राजीनामा दिनुपर्ने र त्यसो नभए संविधानअनुसार अगाडि बढ्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
साथै बुधबारको बैठकले कुनै पनि कारणले अन्य समूहमा लागेका सबै नेता, कार्यकर्तालाई आ–आफ्नो जिम्मेवारीमा फर्कन आव्हान गर्ने निर्णय समेत गरेको छ ।
“नयाँ सन्दर्भमा पार्टीका जति कमरेडहरु भ्रममा परेर वा अन्य कारणले फुटवादी गुटमा र प्रतिगामी गुटमा लाग्नु भएको छ ती सबै साथीहरुलाई मूल पार्टीमा नै फर्केर आ–आफ्नो जिम्मेवारी लिन पनि आव्हान गर्ने निर्णय गरेका छौं ।” श्रेष्ठले भन्नुभयो ।