• नमोबुद्ध संवाददाता,

भकुण्डबेशी–सुशासन,पारदर्शिता र जवाफदेहीताको सवालमा जोडिने विषय हो सूचना । जहाँ सूचनाको हकका विषयमा उदारता हुन्छ त्यहाँ नागरिक सर्वोच्चताको कदर हुन्छ भन्ने उदाहरण केहि स्थानीय सरकारहरुमा पनि देखिएको छ । यसैक्रममा काभ्रेको नमोबुद्ध नगरपालिका यस विषयमा संवेदनशील देखिन्छ । यसबारे हालै यहाँ अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । राष्ट्रिय सूचना आयोगको आयोजना तथा नमोबुद्ध नगरपालिकाको समन्वयमा भएको कार्यक्रममा नगर प्रमुख टिपी शर्मा तिमल्सिनाको प्रमुख आतिथ्यता तथा सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङको अध्यक्षता रहेको थियो ।

नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र अन्य सरोकारवालालाई सूचनाको हकका विषयमा जानकारी गराउने र सूचनाको हकको व्यवस्थाको कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा नगर प्रमुख तिमल्सिनाले नमोबुद्ध नगरपालिकामा सूचनाको हकसम्वन्धी ऐन कार्यान्वयन भइरहेको र जनतासमक्ष नगरपालिकाको काम पारदर्शीरुपमा राखिएको बताउनुभयो । उहाँले नगरमा सूचना अधिकारीको व्यवस्था गरिएको, हरेक बर्ष नगरबाट सम्पादित कामबारे सार्वजनिक सुनुवाईका साथै जनतासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गर्ने गरिएको दावी गर्नुभयो । सूचनाको हकको प्रत्याभूति दिलाउन नगरपालिका प्रतिवद्ध रहेको उहाँको भनाई छ । जनप्रतिनिधि र कर्मचारी मिलेर विकास निर्माणमा अगाडि बढेको बताउँदै तिमल्सिनाले नगरका हरेक क्रियाकलापलाई पारदर्शीरुपमा सञ्चालन गरिएको बताउनुभयो ।

कार्यक्रममा सूचना आयोगका प्रमुख सूचना आयुक्त गुरुङले जनतालाई अधिकार सम्पन्न बनाउनुपर्छ भन्ने उद्देश्यले सूचनाको हकसम्वन्धी व्यवस्था गरिएको बताउनुभयो । उहाँले नमोबुद्ध नगरपालिका पारदर्शी र नागरिकप्रति उत्तरदायी रहेको विश्वास व्यक्त गर्दै आगामी दिनमा थप पारदर्शी र उत्तरदायी बनाउन सुझाव दिनुभयो । उहाँले नगरपालिकाअन्तर्गतका विद्यालय, स्वास्थ्य संस्था लगायत सबै निकायमा सूचना अधिकारीको व्यवस्था हुनुपर्ने, तीन महिनामा भए गरेका कामको विवरण सार्वजनिक गर्नुपर्ने बताउनुभयो । स्थानीय तहले नागरिकले मागेका सूचना उपलव्ध गराइयो, पारदर्शी बनाइयो भने स्थानीय तह नै बलियो बन्ने उहाँको धारणा थियो ।

कार्यक्रममा सुचना आयोगका आयुक्त रत्नप्रसाद मैनालीले सूचनाको अधिकार प्रयोग गरेर विभिन्न मुलुकमा ठूला घोटालाहरुको पर्दाफास भएको उदाहरण प्रस्तुत गर्दै सूचनाको हकसम्वन्धी व्यवस्थाले सरकारलाई पारदर्शी र उत्तरदायी बनाउने बताउनुभयो ।

कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले नागरिकलाई प्रश्न गर्ने हक रहेको भन्दै आफूहरु जवाफदेशी र पारदर्शी हुनुपर्ने बताउनुभयो । गत आर्थिक बर्षमा नमोबुद्ध नगरपालिकामा सूचनाको हकसम्वन्धी व्यवस्थाअनुसार चारवटा सूचना माग भएको र सहजरुपमा उपलव्ध गराइएको बताउनुभयो । उहाँले सूचनाको हकको सम्मान गर्दै नेपाली र स्थानीयस्तरमा बढी बोलिने तामाङ भाषामा ध्वनीसहितको नागरिक बडापत्रको व्यवस्था गरिएको, सबै वडा कार्यालयमा योजनाको विवरण पारदर्शीरुपमा राखिएको, बार्षिक कार्यक्रमको पुस्तिका सबैको पहुँचमा पुग्नेगरी सार्वजनिक गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय सूचना आयोगका सचिव डा।मुकुन्दप्रसाद पौड्याल र उपसचिव कपिलप्रसाद पौड्यालले सूचनाको हकका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !