-
नमोबुद्ध संवाददाता,
काठमाडौं–नेपाल सरकारले आफ्नो भूमिमा रहेको विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृति दिएको छ ।
सगरमाथाको नयाँ उचाइ घोषणा गर्नका लागि यो मन्त्रालयको प्रस्तावलाई मन्त्रिपरिषद्को बुधबारको बैठकले स्वीकृत गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले जानकारी दिनुभयो । मन्त्री अर्यालका अनुसार अब मन्त्रालयले छिट्टै सगरमाथाको नयाँ उचाइ आधिकारीक रूपमा घोषणा गर्नेछ । यसको तयारी भइरहेको उहाँको भनाई छ ।
सगरमाथाको उचाइ यकिन गर्नका लागि नेपाली र चिनियाँ सरकारी टोलीले संयुक्त रूपमा काम गरेका थिए । दुवै मुलुकका सरकारी कमिटीले प्रतिवेदन तयार पारेका थिए । नेपालको सरकारी समितिले सगरमाथाको उचाइ नापजाँचको प्रतिवेदन मन्त्री अर्याललाई बुझाएपछि सार्वजनिक गर्नका लागि मन्त्रिपरिषद्मा प्रस्ताव गएको थियो ।
गत वर्षको असोजमा चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा संयुक्त रूपमा सगरमाथाको उचाइ घोषणा गर्ने दुई मुलुकबीच सहमति भएको थियो ।