-
नमोबुद्ध संवाददाता,
भकुण्डे–नमोबुद्ध नगरपालिका, इसिमोड र सिप्रेडले नगरपालिकाभित्र सञ्चालन गरेका कृषि र वातावरणसँग सम्वन्धीत कार्यक्रमबारे मंगलबार अनुगमन तथा छलफल सम्पन्न भएको छ ।
राष्ट्रपति कार्यालयका सल्लाहकार लालबाबु यादव,लक्ष्मी कार्की, राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओली, वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओली, राष्ट्रपति कार्यालयका स्वकीय सचिव सोम राई, राष्ट्रपति कार्यालयका स्वकीय उपसचिव भवानी कार्की, इसिमोड प्रतिनिधि नन्द अग्रवाल, सिप्रेडका कार्यकारी निर्देशक केशवदत्त जोशी लगायतको टोलिले मंगलबार अनुगमन गरेको नगरप्रमुख टिपी शर्माले जानकारी दिनुभयो ।
उक्त टोलीले यसबारे छलफलका साथै नगरपालिकाको वडा नं. ४ जोरसल्ला र वडा नं. ६ मा सञ्चालन गरिएका कार्यक्रमको अनुगमन गरेको हो । अनुगमनपछि नगरक्षेत्रमा वातावरण र कृषि क्षेत्रमा भइरहेका कामकोे समीक्षा गरिनुका साथै आगामी दिनमा गर्नुपर्ने कार्यबारे छलफल पनि चलेको प्रमुख शर्माले बताउनुभयो ।
छलफलको क्रममा राष्ट्रपति कार्यालयका सल्लाहकार लालबाबु यादवले राष्ट्रपति चुरे संरक्षण कार्यक्रम जस्ता कार्यक्रम तथा राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई नमोबुद्ध नगरपालिकामा पनि सञ्चालन गर्नुपर्ने बताउनुभयो । यस्ता कार्यक्रमले कृषि क्षेत्रको विकासका साथै वातावरण संरक्षण र जीविकापार्जनमा महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाई छ ।
यस्तै राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीले नमोबुद्ध नगरपालिकामा सञ्चालन भएको जलवायु अनुकलन कार्यक्रमले वातावरण संरक्षणको क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको भन्दै आगामी दिनमा यसको दायरा अझै फराकिलो बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले नगरपालिकामा लिफ्ट सिञचाई लगायतका आयोजनाको डिपिआर निर्माण लगायतका कार्यमा राष्ट्रिय योजना आयोगले समेत सहयोग गर्ने बताउनुभयो । संघीय सरकारका समपुरक योजना समयमै सम्पन्न गरेकोमा उनले नमोबुद्ध नगरपालिकाको प्रशंससमेत गर्नुभयो । आगामी दिनमा नवीकरणीय उर्जा, खानेपानी, सिञ्चाइ, वातावरण संरक्षण तथा दीगो फोहोरमैला व्यवस्थापनलाई विशेष प्राथमिकतामा राख्नुपर्ने र आवश्यक सहयोग रहने उहाँको प्रतिवद्धता छ ।
छलफलमा वन मन्त्रालयका सचिव विश्वनाथ ओलीले नमोबुद्ध नगरपालिका वातावरण संरक्षणको क्षेत्रमा अन्य नगरभन्दा अगाडि रहेको भन्दै जलवायु अनुकुलन कार्यक्रम सञ्चालन हुन लागेका देशका पाँच नगरपालिकामध्ये नमोबुद्ध नगरपालिकालाई प्राथमिकतामा राखिएको बताउनुभयो । सोही अनुसार नेपाल जलवायु अनुकुलन कार्यक्रमका लागि यो बर्ष एक करोड रुपैयाँ छुट्याइएको र आगामी दनमा कार्यक्रमको प्रभावकारिता हेरेर थप रकम छुट्याइने उहाँले उल्लेख गर्नुभयो ।
छलफलमा नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले ठूला खानेपानी आयोजनाका लागि डिपिआर तयार पारिएको जानकारी दिँदै ती आयोजनाका लागि सहयोग गर्न आग्रहसमेत गर्नुभयो । उनले भु उपयोग नीति बनाउनुका साथै वातावरणसम्वन्धी आवश्यक ऐनहरु तर्जुमा गर्ने प्रतिवद्धता जनाउनुभयो ।