नमोबुद्ध संवाददाता,
तेमाल- तेमाल गाउँपालिकाको उपाध्यक्ष एवं न्यायिक समितिका प्रमुख दुर्गा माया तामाङले स्थानीय मेलमिलापकर्ताहरु र न्यायिक समिति बीचको अन्तरकृयाले सकारात्मक प्रभाव छोड्ने बताउनुभएको छ ।
पालिका क्षेत्रमा झैझगडा,महिला हिंसा, श्रीमान श्रीमती बीचको द्वन्द्व लगायतका मुद्धहरु आउने गरेको उल्लेख गर्दै उहाँले स्थानीय क्षेत्रमै तिनको समाधानमा मेलमिलापकर्ताहरुको भूमिका थप प्रभावकारी बनाउन यसखाले अन्तर्क्रिया कार्यक्रमको महत्व रहने स्पष्ट पार्नुभयो ।
यसैक्रममा सोमबार पोखरी नारायणस्थानमा सबै वडाका मेलमिलाप केन्द्रका संयोजक एवं मेलमिलापकर्ताहरु र न्यायिक समितिबीच अन्तर्क्रिया भयो ।
गाउँपालिकाको समन्वय र प्राकृतिक स्रोत द्वन्द्व रुपान्त्रण केन्द्र नेपालको आयोजनामा सामुदायिक मेलमिलाप सम्बन्धि गाउँपालिका स्तरिय अभ्यास आदान प्रदान गरिएको न्यायिक समिति प्रमुख तामाङले जानकारी दिनुभयो ।
विशेषत : स्थानीय मेलमिलाप केन्द्रका संयोजक लगायतलाई सहभागी गराई गरिएको कार्यक्रममा द्वन्द्व निराकरणमा भइरहेको अभ्यासका साथै आइपर्ने चुनौती,न्यायिक समिति र सामुदायिक मेलमिलाप केन्द्रहरुबीचको समन्वय सम्बन्धमा विशेष छलफल चलेको हो ।
यस कार्यक्रमले आफूहरुमा थप उर्जा प्रवाह गराएको सहभागी स्थानीय मेलमिलाप केन्द्रका संयोजकहरुले बताए ।